सडक बनाउँदैनन्, चोर बाटोबाट हिँड्छन् प्रचण्ड
काठमाडौं । उच्च जिम्मेवारीमा रहेका नेताहरुको रुचि ‘अन्य विषयहरुमा’ भएपछि आफैं हिँड्ने बाटोमासमेत कस्तो अवस्थामा पुग्दो रहेक भन्ने उदाहरण नेकपाका सहअध्यक्ष प्रचण्डले देखाएका छन् । गत वर्ष आफ्नो एकमात्र छोरा प्रकाश दाहालको रहस्यमय मृत्यु पछि प्रचण्ड लाजिम्पाटको निवास छोडेर ललितपुरस्थित खुमल्टारनजिकै बसोबास गर्ने गरेका छन् ।
उनको घर पुग्न करिब आठ सय मिटर सडकमध्ये व्यापक जनदबाब पछि तीन सय मिटर सडकमा केही सुधार गरिए पनि बाँकी पाँच सय मिटर सडक पुरै ‘हिलो पोखरी’ मा रुपान्तरित भएको छ । अघिपछि सुरक्षाकर्मीका गाडीको लावालस्करसहित प्रचण्ड उक्त सडकमा ओहोरोदोहोरो गर्दा हिलो छल्किएर आसपासका घरहरुसमेत हिलाम्मे र कुरुप बनेपछि स्थानिय बासिन्दाले सत्ताश्राप गरेका छन् ।
जनताले सडक सुधारका लागि पटक पटक आग्रह गर्दा पनि जनआग्रहप्रति संवेदनशील नरहेका प्रचण्डले दिनदिनै गाली खानु या सडकको सुधार गर्नु भन्दा चोरबाटो हिँड्नु उचित ठानेका छन् । टुटेपानीदेखि फूलबारीसम्मको करिब ५०० मिटर सडक सुधार गर्नु भन्दा उनले आफू हिँड्ने बाटो नै बदलेका छन् ।
सातदोबाटोबाट बज्रबाराही जाने सडक भएर जाँदा निवास पुग्न छोटो बाटो पर्ने भए पनि प्रचण्ड अचेल सातदोबाटोबाट खुमल्टार चोक हुँदै धापाखेलको सडक भएर घर जान थालेको स्थानीय बासिन्दाहरुले बताएका छन् ।
यसैबीच प्राप्त अर्को समाचारअनुसार प्रचण्ड निवासका आगन्तुकहरुले प्रचण्डसम्म पुग्न पनि ‘चोरबाटो’ प्रयोग गर्नुपर्ने भएको छ । प्रचण्डले प्रेस सहयोगीका रुपमा जुगल उर्फ विष्णु सापकोटालाई आफूसँगै राखेका छन् भने जोखबहादुर महरालाई स्वकीय सचिवको जिम्मेवारी दिएका छन् । तर, प्रचण्डपुत्री गंगा दाहाल र उनको पतिका कारण सापकोटा र महरा ‘जोकर’ बन्न पुगेका छन् ।
प्रचण्डले आफूले बोक्ने टेलिफोन छोरी गंगालाई जिम्मा दिएका छन् । त्यसैले ठूला घरानाका व्यापारी तथा अनेक दृष्टिले महत्वपूर्ण मानिने व्यक्तिहरु गंगालाई सम्पर्क गरेर सोझै प्रचण्डसम्म पुग्ने गर्छन् । महरा र सापकोटाको काम चाहीँ ‘सी ग्रेड’ का आगन्तुकहरुलाई पन्छाउने र ‘ठूला मानिसहरु आएको र गएको हेर्ने’ मात्र भएको छ । छोरा प्रकाशको निधनपछि प्रचण्ड निवासमा छोरी गंगा र उनका पतिको चुरीफुरी निकै बढेको महसुस आगन्तुकहरुले गरेका छन् ।
घटना र विचार साप्ताहिकबाट
चोर बाटोबाट हिँड्छन् प्रचण्ड