विचार

धनयुद्धको राप, जनयुद्धको ताप 

धनयुद्धको राप, जनयुद्धको ताप 

एउटा जंगलमा विभिन्न जातका प्राणीहरुको बसोबास रहेछ । उनीहरुबीच अगाध प्रेम थियो । तिनीहरुको प्रेममाथि डाहा गरेर कसैले जंगलमा आगो लगाइ दिएछ । जंगलका सवै जनावर आत्तिएर नजिकैको अर्को जंगलमा शरण लिन गएछन ।

 

तर एउटा सानो चरा भने निडरतापूर्वक कुवा नजिकैको खाल्डोबाट पानी ल्याउँदै माथिबाट पानी चुहाएर आगो निभाउने कोशिस गर्दै रहेछ । तर अरु जनावरहरुले उसलाई भनेछन– ‘हे मूर्ख चरा तेरो चुच्चोमा ल्याएको पानीले जंगलको आगो निभ्दैन, बरु तँ उल्टै जलेर मर्न बेर छैन ।’

 

मुखभरिको जवाफ दिँदै त्यो चराले साहसकासाथ भनेछ– ‘तिमीहरु सबै डरछेरुवा हौ, तिमीहरुलाई केवल आफ्नो प्राणको चिन्ता छ । म इतिहासमा मरेर पनि अमर रहनेछु । किनकी मैले त कोशिस गरेँ नि ।’ 


देशका ठूला दल कम्युनिष्ट, काँग्रेस, मधेशवादीले स्थानीय निकायमा जितेर पनि हारेका छन् । न तिनीहरु व्यक्ति फेरिए, न चरित्र फेरियो । आगोको लाभाले खरानी हुन लागेको देशको बागडोर लिएका नेताले एउटा चराले जति मेहनत गरेनन् ।

 

मतदाता पनि उस्तै देखिए । फेसबुकमा क्रान्ति उराले तर भोट तिनै गाली गरिने जनमाथि खन्याए । अमेरिका जस्तो देशमा घरजग्गा कारोवारी डोनाल्ड ट्रम्प सारथी भए । छिमेकी भारतमा भविष्य जे भएपनि नरेन्द्र मोदी, केजरीवाल, अन्ना हजारे, योगी आदित्यनाथजस्ता पात्र सतहमा आए ।

 

चीनमा त झन् दुई बीस हाराहारी उमेरकाहरु कार्यकारी तहमा पुगिसके । २१ वर्षकी रन्जु दर्शनाले अंक गणितमा हारेपनि राजनीतिमा जितेको भन्दै फूलमाला ग्रहण गर्दा परिपक्वता, राजनीति र उमेरका पाका ओली, दाहाल र देउवा पूर्वाग्रहभन्दा माथि उठेनन् । केपी ओलीलाई स्थानीय तहमा आफ्नो दल पहिलो भएकोमा खुसी लागेन बरु काँग्रेस दोस्रो कसरी भयो भनेर मनलाई मरिच बनाउने तर्फ केन्द्रित भए ।

 

शेरबहादुर देउवालाई पार्टी डुबेको भन्दा प्रचण्डपुत्रीको कल्याण नहोला भन्ने चिन्ताले खग्रास बनायो । आर्थिक लाभांसको शेयर र राजनीतिको मेयर दुवै खोज्दा नेताहरु झन्झन् नांगिदै गए । चण्डमुण्ड, हुक्के, ढोके, नन्दीभृंगीले बचाएको लाजले कति दिन धान्नु ?  


नेपाली समाजले कल्पनै नगर्ने औडाहालाग्दा उब्जाइएका प्रोजेक्टले हरेक राजनीतिक परिवर्तन उल्टिने खतरा बढ्दो छ । गाई खान पाउनुपर्ने माग लिएर एकाएक एउटा पात्र शहरमा बर्थ डे पोजमा निस्कियो । महिलाहरु बलात्कारीलाई फाँसीको माग राखेर नाङ्गै रोइलो मच्चाउन थाले । हिजोसम्म यशू प्रभुको लीला गाएर पश्चिमाको एजेण्डा पक्रिनेहरु उताको प्रोजेक्ट थप नभएपछि रातारात राजतन्त्र र हिन्दुराज्यको पासा लिएर बजारमा आएका छन् ।

 

प्रतिपक्षी आफू सत्तामा हुँदा सिंहदरबारमा झुण्ड्याइएको फोटो आफ्नो हैन भन्ने सम्मको तल्लोस्तरको मनोविज्ञानमा पुगेको छ । हेर्दा सामान्य लाग्ने यी यस्ता विषय हुन, जसले समाज भाँड्न सुकेलुतोको काम गर्छन् । समाजलाई अघि बढ्न दिन नचाहनेहरुका लागि यो अचूक मसला हो । सरकारमा पुगेपछि पहाड सम्याउँला भन्ने भ्रम कसैमा छैन ।

 

बाहिर हुँदाको क्रान्तिकारी त्यहाँ पुगेपछि कति आज्ञाकारी हुनुपर्छ भन्ने अभ्यास सबै दलका प्रमुख नेतालाई छ । नेताहरुको स्वार्थसमूहसंगको हेलमेलले सरकार कर्पोरेट हाउसमा अनुवाद हुँदै गएको तथ्य कसैबाट छिपेको छैन् । हिजो कहाँ चुक्दा जनअपेक्षित काम हुन सकेन ? कर्मचारीतन्त्र चाकरी र मुखियातन्त्रबाट माथि उठ्न सकेन ? यी प्रश्नको उत्तर खोज्ने सामथ्र्य कसैमा देखिएन ।

 

बरु विरुवामा पानी हाल्दै गरेको माली, आरनमा रमाउँदै गरेको विश्वकर्मा, लुगा सिउनमा आफ्नो स्वधर्म सम्झिएको दर्जी, हाकिमलाई मीठो चिया पकाएर काममा उत्साही गर्दै गरेको पियनलाई उचालेर शिरमा पुर्‍याउँदाको परिणाम राजनीतिक नेतृत्वले भोगिरहेको छ । पियनलाई सल्लाहकार बनाएर सचिवको सरुवा गर्दाको परिणति नेता जोक्कर बन्दैछन् ।

 

सबैलाई शोषक, सामन्त, पूँजीपति, दलाल भन्दै अमूर्त नारा उचालेर ढुँगामाटो बाहेक सबैलाई मन्त्री, सांसद र तिनका सन्तान  डाक्टर, इन्जिनीयर, पाइलट बनाइदिने भनेर उचालिएका तिनै सलाईका काँटीहरुको व्यवस्थापन नेताहरुको लागि फलामको चिउरा बन्यो । पञ्चायतका मण्डलेलाई शक्तिको अशोभनीय पूजा गरेको भन्दै टुप्पीबाट धुवाँ निकालेर कुर्लने नेताहरुले यति मण्डले जन्माए कि त्यो रमाइलोले उनीहरु आफैं देवता भएको भ्रममा पुगे । म नै राज्य हुँ भन्ने लुईस चौधौंका अवतारहरु पाइला पाइलामा जन्मिए ।

 

कृष्णप्रसाद भट्टराईले रक्सी खाने पैसा जुटाउन संसद जान लागेको भनेर अन्तरआत्माको आवाज बोल्दा त्यसबेला ‘किसुनजीको कुटनीति’ भनेर काँग्रेसीहरु बर्को हाल्थे । कृष्णप्रसाद यस्ता क्षमतावान वाक्पटु थिए कि जसलाई अरुको जन्तर मन्तरको कुनै अर्थ थिएन । अहिले केपी र पीकेलाई प्रतिरक्षा गर्न त्यस्तै मण्डले जत्थाको बिगबिगी छ ।

 

यिनीहरुले पितलको गिलासमा पानी खाए भने त्यसलाई सुन बनाउने कथित प्रयास हुन्छ । खाएको, लाएको, हिँडेकोसम्म भद्दा मोडलिङ बनाउँदै प्रचार गरिन्छ । यो हनुमाने भक्तिले उनीहरुलाई मनमोहनको नभएर मोहनचन्द्रको ठाउँमा पुर्‍याउँछ । 


डाक्टरहरुले कलपूर्जा सफा गरेजस्तै गरी मानव शरीरको शल्यक्रिया गर्छन् । विभिन्न रोगको नाममा उब्जिएका ट्यूमर काटेर मिल्काउँछन् । मस्तिष्क, मुटु, फोक्सो, मृगौलाका जटिल उपचार गर्छन् । खै, तिनीहरुले मानिसभित्रको लोभ, इष्र्या, रिस, कुकर्म, प्रतिशोध चाहिँ किन मिल्काउन नसकेका होलान ? ती वस्तु हुन्छन् चाहिँ कहाँ ?

 

नेपालमा अब बेथितिको उपचार इतिहास हैन, शल्यक्रियाबाट खोज्नुपर्ने अवस्था आएको छ । नेताहरुलाई अरु रोगका लागि नभएर मनोवैज्ञानिक यो समस्या निदानका लागि अस्पताल गर्नुपर्ने भएको छ । मलेशियाको कायापलट गर्ने मुहम्मद महाथिर, सिंगापुर बनाउने लिक्वान, विहारलाई दोहोरो अंकको आर्थिक विकासमा पुर्‍याउने नितिशकुमार आएर हाम्रा मुखियाहरुलाई प्रवचन दिए पनि केही फरक पर्दैन् । यस्ता व्यक्तित्वसंग बसेर एकाधवटा कुम जोडेर फोटो खिच्नेभन्दा दोस्रो कर्म उनीहरुले जानेकै छैन् ।

 

हामी पछि परेको नजानेर, नबुझेर, नदेखेर नभई नियत नै खोटो भएर हो । सरकारको नीति कार्यक्रमभन्दा कमेडीको भाउ छ । बब मार्लिनको लट्टे कपाल विक्छ । राखी सावन्तको छिल्लिएको मादक नखरा विक्छ । नेपालमा मानिसको भिजन हैन, पोर्नस्टार सन्नी लियोनको अद्र्धनग्न जवानी बिक्छ ।

 

अझ विश्वबाट काम नलाग्ने भनी मिल्काइएको माओ डक्टिन भित्तामा पुर्‍याइँदा पनि अझैं टालाटुली बटुलीका शैलीमा तानतुन पारेर राजनीतिक भोटो सिउने प्रयास गरिन्छ । यसरी क्रान्तिका नाममा रोपिएका धतुरोबाट धानको अपेक्षा गरिन्छ ।

 

अनि धान नफल्दा पुर्पुरोलाई धिकार्ने काम हुन्छ । विकास बादले नभई इच्छाशक्तिले हुन्छ भन्ने नर्सरी बालकले बुझेको सत्य तिनका हजुरबा पुस्ताको मथिंगलमा पसेको छैन् । जीवनको पूर्वाद्धलाई उपेक्षा गरियो भने उत्तराद्र्धमा पुगेर बुझेको सत्य काम लाग्दैन् ।

 

भूपि शेरचनको कविताले अरुलाई मिठास दियो । तर जीवनको उत्तराद्र्धमा उनले निष्कर्ष निकाले– आफूलाई दुईवटा क ले विगारे । जसको अर्थ थियो– कविता र कम्युनिष्ट । जीवनभर नास्तिकवादमा कलम चलाउने लक्ष्मीप्रसाद देवकोटाले ब्रम्हनालमा पुगेपछि भने– ‘आखिर श्रीकृष्ण रहेछ एक ।’

 

विश्व राजनीतिमा निरंकुशताको सजीव पात्र संझिइने हिटलर कालिदासको साकुन्तल महाकाव्यका प्रशंसक मात्र भएनन, आर्य संस्कृतिको प्रतिरक्षा गरे । त्यसैले राजनीतिका नाममा मनमा एकथोक, बोलाई अर्को र गराई तेस्रो खाले संस्कृति नत्यागेसम्म हाम्रा लागि राजनीति सेवा हैन, धोकाको अर्को नाम हुने निश्चित छ । 


सर्वहारा हैन, सर्वआहारा अनि दाँती मिलेका घर भएका धनाढ्यहरु पार्टीको चुल्हो चौकोमा पुगेपछि रगत र पानीको भेद अन्त्य भएको छ । धनयुद्धको राप र तापमा टिक्न नसकेर जनयुद्धका महिषीहरुको हातमा पश्चाताप शिवाय अरु केही हात लागेन । कम्युनिष्ट नेतृत्वले जब शहरी नूनसंग बढी सम्झौता गर्न थाल्यो, उभित्रको रातो रंग खरानी बन्दै गयो । 


धन त आउँछ पनि जान्छ पनि । धन गएर मानिस बिग्रदैन, तर चरित्र गयो भने मरेको मर्‍यै हुन्छ । विश्वका राजनेताहरुले बद्नामीबाट बच्न पारिवारिक बन्धन चुँडाल्ने हिम्मत गरेका छन् । उनीहरुले राजनीतिको अम्लेठ खान खोजे तर अण्डाको माया गरेनन् । पतिको शारीरिक कुरुपताप्रति तीब्र वितृष्णा भाव राख्ने मेरी टोड लिंकन कर्कश स्वभावकी थिइन् । विलासी जीवनको चाहना राख्थिन् ।

 

यस विपरित अब्राहम लिंकन शान्त, सादा, सरल र विनयी थिए । कतिसम्म भने स्प्रिंग फिल्डमा रहँदा उनले लिंकनको मुखमा तातो कफी मिल्काइदिएकी थिइन । संसारको कुनै पनि मनुष्यले आफ्नो दाम्पत्य जीवन पीडादायी र कष्टकर बनोस् भनेर चाहेको हुँदैन ।

 

समाजका सामान्य मानिसहरु मात्र होइन ख्यातीप्राप्त महामानवहरुको सोचाइ पनि यस्तै हुन्छ । तर शक्ति र सत्ताको राजकीय मर्यादाका कारण यी महान दम्पतिको पारिवारिक जीवन सदैव विषादपूर्ण रह्यो । भारतीय स्वतन्त्र संग्रामका महारथी महात्मा गान्धी श्रीमती कस्तुरबा गान्धीलाई एकसय चार ज्वरो आउँदा पनि वास्ता गर्दैनथे ।

 

विश्वविख्यात राजनेता मण्डेला जब सत्ताको सप्रभुताको सिंहासनमा बस्न पुगे दुखका दुष्कर यात्रामा साथ दिने पत्नी बिन्नीलाई त्याग नगरी धर पाएनन् । लोकतन्त्रको मातृभूमि मानिने बेलायती युवराज चाल्र्स र डायना परस्परमा छिन्नभिन्न हुनुपर्‍यो । माओत्सेतुङ व्यक्तिगत हैसियतमा अत्यन्त खर्च कम गर्थे । पुरानो कोट र खुइलिएको कमिज नफाटुन्जेल लगाउँथे ।

 

१९५८ तिर चिया र मासु महँगो ठानेर खानै छोडिदिए । तर श्रीमती बटुल्ने र सन्तान जन्माउनेमा यिनी लापर्वाह थिए । ४८ वर्षको उमेरमा २३ वर्ष कान्छी ज्वांगसंग चौथो घरजम गरे । उनको विलासी व्यवहार सम्झिनेहरु अहिले पनि नाक खुम्च्याउँछन । आफ्नो परस्त्री प्रतिको रुचिमा सुशीलाको गुनासो रहने गरेको स्वयं बीपीले उल्लेख गरेका छन् ।

 

अरु त अरु हरे किर्तनमा लागेकी श्रीमतीको व्यवहारबाट जीवनको उत्तराद्र्धमा देशको मन्त्री भइसकेका लक्ष्मीप्रसाद देवकोटा आजित थिए । त्यसबेलाका धर्मगुरु कविप्रसाद गौतममाथि धर्मको आडमा समाज भाँडेको आरोप थियो । धर्म आवरणमा उनी महिलालाई जुठो ख्वाउने, खुट्टा ढोगाउने, खुट्टाको धुन लगाए पानी ख्वाउनेजस्ता काम गर्थे ।

 

एकातिर रोगी देवकोटा उपचार खर्च नपाएर थलिएका थिए भने अर्कातिर देवकोटा पत्नी मनदेवीमा यस्तो धार्मिक भूत चढेको थियो कि उनी लोग्नेको आँखा छलेर दहीको कतारोभित्र चाँदीको मोहोर लुकाएर गुरु पोस्ने गर्थिन् । समाजमा अपराध बढेपछि गेरुवस्त्रधारीहरुको व्यापार पनि स्वतः बढ्छ । समय फेरियो, पात्र फेरियो तर शैली र प्रवृत्ति अहिले पनि उस्तै छ । जताततै कर्मवादीभन्दा भाग्यवादीहरुको उपस्थिति सघन बन्दै गएको छ ।

[email protected]

विशेष