मुख्य समाचार

वामदेव गौतमलार्इ डाेल्पाबाट पुनः निर्वाचन लडेर प्रतिनिधिसभामा आउन बाटाे खुला गरिदै

वामदेव गौतमलार्इ डाेल्पाबाट पुनः निर्वाचन लडेर प्रतिनिधिसभामा आउन बाटाे खुला गरिदै

काठमाडौं । नेकपा नेता वामदेव गौतम पुनः निर्वाचन लडेर प्रतिनिधिसभामा आउन बाटाे खुला भएकाे छ । डोल्पाबाट प्रतिनिधिसभाबाट लडेका सांसद धनबहादुर बुढा मगर राजिनामा दिन तयार भएकाले नेकपा नेता वामदेव गौतमलार्इ पुनः निर्वाचन गरेर तिनिधिसभामा आउन बाटाे खुला भएकाे हाे । 

 

नेता गौतम गएको प्रतिनिधिसभाको निर्वाचनमा देशैभरबाट वाम गठबन्धनले जितेर आउँदा बर्दिया- १ बाट पराजित  भएका थिए । पार्टीका शीर्ष नेता नै पराजित भएपछि अहिले गौतमलाई संसदमा ल्याउन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै सक्रिय छन्।

 

 नेता गौतम निकट स्रोतका अनुसार उनी पार्टी निर्णयको पक्षमा छन्। सकभर आफ्नो क्षेत्र छाड्न नचाहे पनि पार्टीले आवश्यकता महसुस गरेमा गौतम डोल्पा जान तयार छन्।

 

डोल्पाबाट प्रतिनिधिसभाको निर्वाचन जितेर सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बनाइएका सांसद धनबहादुर बुढा मगरलाई राजीनामा दिन लगाएर गौतमलाई चुनाव लडाउने नेकपाको तयारी छ। यस सन्दर्भमा राज्यमन्त्री बुढा पनि सहमत भइसकेका बताइएको छ। 

 

गौतम पराजित भएपछि पार्टी राजनीति र सरकार संचालनमा असर पुगेको भन्दै डोल्पाबाट निर्वाचित बुढाको राजीनामा गराएर गौतमलाई चुनाव लडाउन लागिएको स्रोतको भनाइ छ। गौतम निकटका नेता मानिने बुढालाई राजीनामा दिने सहमतिअनुसार नै राज्यमन्त्री बनाइएको स्रोतले बतायाे। 

 

स्रोतकाअनुसार राज्यमन्त्री बुढाले १५ भदौभित्र राजीनामा दिने तयारी छ। गौतम डोल्पा आउने पक्का भएपछि राज्यमन्त्री बुढाले एक चरण डोल्पाका दुई नगरपालिका त्रिपुरासुन्दरी र ठूलीभेरी पुगेर जनतालाई जानकारी गराउने र काठमाडौं आई राजीनामा दिने तयारी छ। यसका लागि उनी भदौ ७ मा डोल्पा जाने कार्यक्रम रहेको बताइएको छ।

 

नेता बुढाले राजीनामा दिएपछि सरकारले डोल्पामा उपनिर्वाचन गर्नका लागि निर्वाचन आयोगसँग आग्रह गर्नेछ। उपनिर्वाचनमा गौतमलाई जिताएर संसदमा भित्र्याउने नेकपा अध्यक्षद्वय ओली र प्रचण्डको योजना छ। यस विषयमा सोमबार बसेको नेकपाको सचिवालय बैठकमा समेत सामान्य छलफल भएको थियो।

 

 तर  निर्वाचित सांसदलाई राजीनामा गर्न लगाएर पराजित भएका शीर्ष नेता गौतमलाई चुनाव लडाउने चर्चाबीचमै डोल्पाका युवाहरूले गत साउन १८ गते काठमाडौंमा पत्रकार सम्मेलन गरेर त्यसको विरोध गरेका थिए। उनीहरूले बुढालाई राजीनामा दिन लगाएमा डोल्पाली जनतामाथि अन्याय हुने बताएका थिए।
 

वामदेव गौतम धनबहादुर बुढा मगर

विशेष