मुख्य समाचार स्वास्थ्य

मुलुकी संहितामा संशोधन गर : डा. केसी

मुलुकी संहितामा संशोधन गर : डा. केसी

काठमाडौं । चिकित्सा शिक्षाका सुधारका अभियन्ता डा गोविन्द केसीले नयाँ मुलुकी संहिताले चिकित्सकलाई मुद्दामामिलामा फसाउने देखिएको भन्दै विरोध जनाएका छन् । 


उनले बिहीबार एक विज्ञप्ति जारी गर्दै भने, ‘राज्यको प्राथमिकता चिकित्सक र स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गरेर अधिकतम राम्रो उपचार दिने नभई कमजोरी वा लापरवाहीको आरोपपिच्छे मुद्दामामिलामा फसाउने र तीमध्ये धेरै अवस्थामा जेल पठाउने व्यवस्था गर्नु रहेको उक्त कानुनी व्यवस्थाले देखाउँछ ।’


डा. केसीले राजनीतिक दलहरूको दशकौंको दोहनका कारण अहिले पनि देशभरका स्वास्थ्यचौकी, उप स्वास्थ्यचौकी र प्राथमिक स्वास्थ्य केन्द्रहरू बीसौं वर्षदेखि उस्तै अवस्थामा रहेको आरोप लगाए । 


नयाँ कानुनी व्यवस्थाले चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई त हतोत्साहित, निरुत्साहित र आतंकित पार्नुका साथै  त्यसको सबैभन्दा ठूलो मार आम बिरामीहरूलाई पर्ने विज्ञप्तिमा उल्लेख गरेका छन् । 


नेपाल चिकित्सक संघसित प्रतिबद्धता गरे झैं चिकित्सक समुदायको सिफारिसअनुसार गम्भीर चिकित्सकीय लापरवाही भएको अवस्थामा त्यसको वस्तुगत छानबिन गरेर बिरामीले न्याय पनि पाउने तर चिकित्सक र स्वास्थ्यकर्मीहरू अहिले झैं आतंकित पनि हुनु नपर्ने गरी उल्लिखित कानुनमा तत्काल संशोधन गर्न सरकार तथा सबै राजनीतिक दलहरुसँग उनले विज्ञप्तिमा आग्रह गरेका छन् ।

 

डा. केसीले ऐनमा प्रेस स्वतन्त्राविरोधी अनेक बन्देजहरू राखिएकोमा चौतर्फी विरोध भइरहेको अवस्थामा सरकारले संविधानले परिकल्पना गरेको अभिव्यक्ति र प्रेस स्वतन्त्रता नै कुण्ठित हुने गरी कथित गोपनीयतासम्बन्धी विधेयक ल्याउन लागेको  भन्दै त्यसप्रति गम्भीर आपत्ति पनि जनाएका छन् । 

डा गोविन्द केसी

विशेष