मुख्य समाचार

किशोरी हत्याको विरोधमा महेन्द्रनगर आज पनि अशान्त 

किशोरी हत्याको विरोधमा महेन्द्रनगर आज पनि अशान्त 

महेन्द्रनगर । किशोरी हत्यापछि कञ्चनपुरमा भड्केको आक्रोश बिहीबार पनि शान्त भएको छैन । किशोरी निर्मला पन्त हत्याको विरोधमा बिहीबार पनि कञ्चनपुरमा सर्वसाधरणले प्रदर्शन गरिरहेका छन्  । उनीहरुले ठाउँ ठाउँमा टायर बालेर सडक अबरुद्ध गरेका छन् । 

 

पन्तको बलात्कारपछि हत्या भएको र स्थानीय प्रशासनले गहन अनुसन्धान नगरी वास्तविक हत्यारालाई उम्काएर मानसिक सन्तुलन गुमाएको व्यक्तिलाई फसाउन खोजेको भन्दै स्थानीय आक्रोशीत भएका छन् । बुधबारको प्रदर्शन उग्र भएपछि प्रहरीले बल प्रयोग गर्नु परेको थियो । प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै केहीलाई नियन्त्रणमा पनि लिएको थियो ।

 

प्रदर्शनकारीले बल प्रयोगको आदेश दिने प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवाको माग गरेका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि, ट्राफिक चोक लगायतका स्थानमा विरोध प्रदर्शन गरिरहेका छन् । प्रदर्शनको क्रममा अप्रिय घटना हुन नदिन सुरक्षा तैनाथी बढाइएको छ ।

 


भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मलाको शव गत साउनमा उखुबारीमा भेटिएको थियो । उनको बलात्कारपछि हत्या भएको भन्दै परिवारका सदस्यले साउन १० गते प्रहरीमा उजुरी दिएका थिए । जिल्ला प्रहरी कार्यालयले भदौ ५ गते निर्मलाको हत्यामा संलग्न भएको भन्दै भीमदत्त नगरपालिका–(१९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो ।

 

बागफाँटाका विष्ट मानसिक अवस्था ठीक नभएका व्यक्ति भएको र वास्तविक हत्यारालाई प्रहरीले सार्वजनिक गर्न नसकेको स्थानीयवासीको आरोप छ ।
 

विशेष