शुक्रबार बिहान ५ बजेबाट कर्फ्यू आदेश हटेपछि कञ्चनपुर शान्त
काठमाडौं। जिल्ला प्रशासनले हिजो (बिहिबार) बेलुकी ५ बजेदेखि जारी गरेको कर्फ्यू आदेश शुक्रबार बिहान ५ बजेपछि हटेको छ । कञ्चनपुरले बिहान ५ बजेपछि कर्फ्यू खुलेको जनाएको छ ।
कर्फ्यूकाबीच राति कुनै पनि अप्रिय घटना नभएको प्रहरीले जानकारी दिएको छ । १३ वर्षीया बालिका निमैला पन्तको बलात्कारपछि हत्या गर्ने वास्तविक अपराधी जोगाउन प्रहरीले नक्कली अभियुक्त खडा गरेको आरोप लगाउदै आन्दोलन चर्केपछि प्रशासनले हिजो बेलुकी ५ बजेदेखि आज बिहान ५ बजेसम्म कर्फ्यू जारी गरेको थियो ।
बिहान ५ बजेपछि कर्फ्यू खुलेपछि बजारमा मानिसहरुको चहलपहल देखिएको छ । अहिले महेन्द्रनगर बजार शान्त रहेको प्रहरीले जनाएको छ। तर फेरि पनि आन्दोलनकारीहरु प्रदर्शनमा उत्रने सम्भावना रहेकोले शान्ति सुरक्षाको अवस्था मजवुद बनाइएको प्रहरीले जनाएको छ ।