एन्फाले भन्याे लिग फुटबलको निर्णयमा पुनर्विचार हुँदैन्
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले रेलिगेसनबिनाको लिग आयोजना गर्ने निर्णयमा पुनर्विचार गर्न नसकिने बताएको छ ।
रेलिगेसनबिनाको लिगले फुटबलको मूल मर्मलाई समाप्त पार्ने भन्दै चौतर्फी आलोचना भइरहेको समय एन्फाले साविक निर्णयबाट आफूहरू पछाडि हट्ने नसक्ने बताएको हो ।
एन्फाले संक्रमणकालीन फुटबल अवस्थाको कारण देखाउँदै असोजको दोस्रो साताबाट रेलिगेसनविहीन शहीद स्मारक ए डिभिजन लिग गर्ने निर्णय गरेको छ । रेलिगेसन नहुने लिगमा १४ टोली सहभागी गराउने एन्फाको तयारी छ ।
फुटबल जानकारहरूले रेलिगेसनबिनाको लिग फुटबलले नेपाली फुटबललाई पछाडि धकेल्ने र विकृति सिर्जना गर्ने भन्दै निर्णय परिवर्तनका लागि एन्फालाई दबाब दिएका थिए ।
तर एन्फाले साविकको निर्णयबाट आफूहरू पछाडि हट्न सक्ने अवस्था नरहेको बताउँदै यसवर्षको लिगमा कुनै टोली रेलिगेसनमा नपर्ने प्रस्ट पारेको छ ।
एन्फा प्रवक्ता किरण राईले लिगलाई मर्या्दित र अर्थपुर्ण बनाउन एन्फाले आन्तरिक गृहकार्य गरिरहेको बताउदै रेलिगेशन नहुदैमा लिग फुटबलमा कुनै असर नपर्ने दाबी गरे ।
एन्फाले बी डिभिजनबाट बढुवा भएका च्यासल र एनआरटीलाई समावेश गर्दै यस सिजन लिग गर्ने तयारी गरेको छ । लिग सुरु हुन अब दुई महिनामात्र बाँकी रहदाँ खेलाडी अनुबन्धनमा क्लबहरुले खासै चासो देखाएका छैनन् ।