कभर स्टोरी भिडियो

पूजा भन्छिन्, ‘चटपटे खाएजस्तै छ रामकहानी’ (भिडियोसहित)

पूजा भन्छिन्, ‘चटपटे खाएजस्तै छ रामकहानी’  (भिडियोसहित)

काठमाडौं । नेपाली सिनेवृत्तमा पटक पटक विवादमा आइरहने कलाकार हुन् पूजा शर्मा । कहिले नायक प्रदीप खड्कासँगको झगडा त कहिले पल शाह । सानोतिनो खटपटमा पनि सामाजिक सञ्जालमा खनिहाल्ने पूजा पछिल्लो समय चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पाैडेलसँगको फन्डामा विवादमा परेकी थिइन् ।

 

यही आउँदो भाद्र २२ गते रिलिज हुने फिल्म ‘रामकहानी’ मा पूजा नायिकाको भूमिकामा मात्र छैनन् । उनले यसै फिल्ममार्फत निर्मात्रीको रूपमा पनि डेब्यु गरेकी छन् । सोही मितिमा नायक प्रदीप खड्का लिड रोलमा रहेको फिल्म ‘रोजी’ पनि रिलिज हुँदै छ । पूजाले निकितालाई दुवै फिल्म एकै पटक जुधाइदिएकोमा फेसबुकमार्फत स्टाट्स लेखेर रिस पोखेकी थिइन् ।

 

यो मामला अहिले उनीहरू दुईबीच मिलिसकेको छ । तैपनि नजिकको व्यक्तिबीच हुने सानो सानो खटपटलाई एक आपसमा कुरा गरेर पनि त सामाधान गर्न सकिन्छ भन्ने गुनासोमा उनले भनिन्, ‘रिस पोख्ने भनेको नै आफ्नै मान्छेलाई हो । अरूलाई पोखिन्न । त्यसकारण यसलाई ठूलो इस्यु बनाइराख्न जरुरी छैन ।’ 



पूजालाई यसपटक ‘रामकहानी’ मा काम गर्न पक्कै पनि सजिलो भएन । मुख्य कारण निर्मात्रीको रूपमा डेब्यु गर्नु । यसले उनलाई थप कार्यभारमात्र दिएको छैन । सानोतिनो कुरालाई लिएर संयमता अपनाउन नसक्दा उनले आलोचना पनि उत्तिकै खप्नुपरेको छ । जसको कारण नायिका आँचल शर्मासँग पनि उनको  सम्बन्धमा खटपट सुरु भयो ।

निर्मात्रीको कार्यभार उठाउँदा उनले यसबाट पाठ पनि उत्तिकै सिकेकी रहेछन् । ‘आफू नायिकामात्र भएर फिल्ममा काम गर्दा निर्मातालाई कत्ति धेरै दुःख दिन्थे । अब बल्ल बुझ्दै छु । अब भने म सानो सानो कुरामा निर्मातालाई दुःख दिन्न । सानो सानो कुराहरू आफैँले मिलाउनुपर्छ भन्ने पाठ जो सिकेकी छु’, उनले भनिन् । 


सुरुवाती फिल्महरूमा पूजाले ‘लभ स्टोरी’ जानराको फिल्म गर्दै आएकी थिइन् । उनका अघिल्लो सबै फिल्महरूमा उनले चञ्चले भूमिका निर्वाह गर्दै आएकी थिइन् । ‘रामकहानी’ मा आफ्नो भूमिका एक जिम्मेवार युवतीको भएको उनले जानकारी दिइन् । फिल्म ठ्याक्क कस्तो बनेको छ भन्ने प्रश्नमा  उनले भनिन्, ‘फिल्म चटपटे जस्तै बनेको छ । दर्शकहरूले सबै कुराको स्वाद पाउन सक्नुहुन्छ ।’


पूजाको बारेमा एउटा अचम्मको कुरा के छ भने, उनी जति नै विवादमा आए पनि सामाजिक सञ्जालमा दर्शकबाट उनलाई नकारात्मक प्रतिक्रिया एकदमै कम आउँछन् । यो पूजाको राम्रो पाटो हो । यसबारेमा आफू एकदमै चकित र खुसी भएको भन्दै उनले भनिन्, ‘पहिला मैले केही राम्रो काम  गरेको रहेछु र अहिले दर्शककोे यस्तो साथ पाएकी छु । यस्तो देखेर त लाग्छ, मलाई फिल्म इन्डस्ट्रीमा कसैको साथ नभएपनि केवल दर्शकको साथ भए पुग्छ ।’
 

पूजा शर्मा

विशेष