बिमस्टेक सम्मेलनमा को को आउँछन् ? के गर्छन् ?
काठमाडौं । बहुपक्षिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बाजेद, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, थाइल्यान्डका प्रधानमन्त्री प्रायुत व चा, म्यानमारका प्रधानमन्त्री विन मिन्ट, भुटानका अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष छिरिङ तोग्वे सहभागी हुने निधो भइसकेको छ ।
म्यानमारका प्रधानमन्त्री सम्मेलन सुरु हुने दुई दिनअघि १२ गते नै काठमाडौं आइपुग्ने छन् । श्रीलंकाका राष्ट्रपति र भुटानका प्रधानमन्त्री १३ गते आउनेछन् । भारत, बंगलादेश र थाइल्यान्डका प्रधानमन्त्री सम्मेलन सुरु हुने दिन १४ गते बिहान काठमाडौं ओर्लनेछन् । उनीहरू सबैले १४ गते दिउँसो शीतल निवासमा राष्ट्रपती विद्यादेवी भण्डारीसँग भेटघाट गर्नेछन् । राष्ट्रपति कार्यालयले उनीहरूको स्वागतका लागि दिवाभोजको आयोजना गर्नेछ ।
‘दिवा भोज सकिएसँगै होटल सोल्टिमा बिमस्टेक उद्घाटन हुनेछ । अध्यक्ष राष्ट्र भएको नाताले प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुहुनेछ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने । उद्घाटन सत्रमा सबै देशका राष्ट्रप्रमुखहरूले वक्तव्य दिनेछन् । साँझ प्रधानमन्त्री ओलीले होटल हयातमा उनीहरूलाई रात्रिभोज दिने कार्यक्रम छ ।
‘१५ गते बिहान रिट्रिटको कार्यक्रम राखिएको छ । रिट्रिट कहाँ गर्ने भन्ने निधो भएको छैन,’ ज्ञवालीले भने, ‘रिट्रिटपछि बिमस्टेक दस्तावेजहरूमा हस्ताक्षर र समापनको कार्यक्रम छ ।’ अधिकांश राष्ट्र प्रमुख त्यसै दिन बिदा हुने कार्यक्रम छ । श्रीलंका र म्यानमारका राष्ट्रपति भने १६ गते लुम्बिनीको भ्रमणमा जानेछन् । श्रीलंकाका राष्ट्रपतिको द्विपक्षीय भ्रमण भएकाले १७ गते नेपालका राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
सम्मेलनमा सहभागी हुन विदेशमन्त्री र सचिवहरूसमेत आउनेछन् । सम्मेलनको दुई दिनअघि सदस्य राष्ट्रका सचिवहरूबीचमा बैठक हुनेछ । त्यसको भोलिपल्ट १३ गते विदेश मामिला मन्त्रीहरूको बिमस्टेकको १६ औं बैठक हुनेछ । यी दुई बैठकले सम्मेलनमा प्रस्तुत हुने र घोषणापत्र जारी गरिने दस्तावेजलाई अन्तिम रूप दिनेछन् । सम्मेलनको सबै तयारी पूरा भएको बताए ।
सन् १९९७ मा स्थापना भएको बिमस्टेकको चार वर्षअघिबाट नेपाल अध्यक्ष राष्ट्र हो । बिमस्टेकको पहिलो सम्मेलन थाइल्यान्डमा सन् २००४ मा भएको थियो । दोस्रो भारतमा सन् २००८ मा भएको थियो । तेस्रो शिखर सम्मेलन ६ वर्षपछि सन् २०१४ मा म्यानमारमा भएको थियो । त्यसपछिको अध्यक्ष नेपाल हो । कार्यतालिकाअनुसार नेपालमा चौथो सम्मेलन नेपालले गर्न लागेको हो ।
‘यसलाई महत्त्वपूर्ण उत्सव, अवसर, परिघटनाका रूपमा ग्रहण गरेर तयारी गरिरहेका छौं,’ ज्ञवालीले भने, ‘संविधान जारी भएपछि तीनवटै तहको निर्वाचन भएर मुलुक राजनीतिक स्थायित्वको चरणमा प्रवेश गरिसकेको परिप्रेक्षमा नयाँ सरकारले आयोजना गर्ने सबैभन्दा ठूलो कार्यक्रम हो । त्यसकारण पनि यसको महत्त्व छ ।’
भारत र नेपालबीच सम्झौता हुने
सम्मेलनको अवसरमा भारत र नेपालबीच दुई सम्झौता हुने भएका छन् । आगामी १४ र १५ को सम्मेलनमा सहभागी हुन आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा रक्सौल–काठमाडौं विद्युतीय रेलमार्गको अध्ययन र बल्क कार्गोसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर (एमओयू) हुने भएको छ । यी दुवै एजेन्डामा ओलीको गत चैतमा भएको भारत भ्रमणमा समझदारी जुटेपछि एमओयूमा हस्ताक्षरका लागि बिमस्टेक सम्मेलनको अवसर पारिएको हो ।
भारतीय प्रधानमन्त्री मोदी बिमस्टेक सम्मेलन सुरु हुने दिन १४ गते नेपाल आउनेछन् । परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार एमओयूमा हस्ताक्षर गर्ने अधिकारी र मिति तय भएको छैन । ‘रेल्वे र बल्क कार्गोको एमओयूमा हस्ताक्षर हुनेछ,’ बिमस्टेक सम्मेलनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा शुक्रबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने ।
सम्झौतापछि रेलमार्गको प्रारम्भिक इन्जिनियरिङ र ट्राफिकसम्बन्धी अध्ययन हुनेछ । रेल विभागका अनुसार यो अध्ययनका लागि भारतको रेल मन्त्रालयले एक कम्पनी छनोटसमेत गरिसकेको छ । उसले काम सुरु गर्न बाँकी छ । दुई देशबीचको एमओयू कुरेर बसेको छ । अध्ययन कार्य सक्न करिब ५/६ महिना लाग्नेछ ।
अध्ययन सकिएपछि रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारी र निर्माण प्रक्रियाका अन्य बाटो खुला हुनेछन् । ‘प्रारम्भिक तयारीअनुसार रक्सौलबाट निजगढ हँुदै काठमाडौंको चोभारमा रेलमार्ग बनाउन खोजिएको हो,’ रेल विभागका महानिर्देशक अनन्त आचार्यले भने । उनका अनुसार यो रेलमार्ग करिब १ सय २० किलोमिटर दूरीको हुनेछ । ‘एमओयू नभएकाले काम अघि बढ्न सकेको थिएन,’ उनले भने, ‘अब हुने सम्झौताले बाटो खुला गरिदिनेछ ।’
बल्क कार्गो सम्झौताले वीरगन्जबाहेकका नाका नेपालगन्जको रुपैडिहा, भैरहवाको सुनौली र विराटनरको जोगबनी नाकाबाट पनि एकैपटक ठूलो परिमाणमा सामग्री आयात गर्न पाइनेछ । एकैपटक ठूलो परिमाणमा सामग्री आयात गर्न पाए बल्क कार्गोसँग सम्बन्धित सामग्रीहरूको ढुवानी लागत र मूल्य सस्तो हुनेछ । बल्क कार्गोमा फलाम तथा रड, सिमेन्ट, कोइला, क्लिंकर, मल र दैनिक उपभोग्य सामग्रीहरू चिनी, भटमास, नुन, तरकारी, फलफूललगायत सामान पर्छन् ।
भारतसँगको यसअघिको सम्झौताअनुसार हाल एकैपटक ठूलो परिमाणमा प्याक गरी वीरगन्ज नाकाबाट मात्रै आयात गर्ने सुविधा छ । तेस्रो देशबाट आयात हुने बल्क कार्गोका सामग्रीहरूसमेत वीरगन्जबाहेकका नाकाबाट आयात गर्दा ससानो प्याकमा मात्रै ल्याउनुपर्ने बाध्यता छ । - कान्तिपुर दैनिकबाट ।
नरेन्द्र मोदी बिमस्टेक बंगाल खाडी शेख हसिना बाजेद मैत्रीपाला सिरिसेना प्रायुत व चा विन मिन्ट छिरिङ तोग्वे