खेल

इमरान खान प्रधानमन्त्रीमा निर्वाचित भएपछि पाकिस्तानी क्रिकेटमा हलचल, फेरिए क्रिकेट प्रमुख

इमरान खान प्रधानमन्त्रीमा निर्वाचित भएपछि पाकिस्तानी क्रिकेटमा हलचल, फेरिए क्रिकेट प्रमुख

पाकिस्तानका क्रिकेट प्रमुख नजाम सेथीले राजीनामा दिएका छन् । पूर्व क्रिकेटर समेत रहेका इमरान खान नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएपछि क्रिकेट प्रमुख सेथीले राजीनामा दिएका हुन् । 

 

सन् २०१३ मा भएको निर्वाचनमा पूर्वप्रधानमन्त्री नवाज शरीफको पक्षमा धाँधली गर्न सहयोग गरेको आरोप खानले सेथीलाई लगाएका थिए ।  

 

सेथीलाई शरीफले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)मा नियुक्त गरेका थिए । अध्यक्षका रुपमा उनको कार्यकाल सन् २०२० मा सकिने भए पनि उनले अहिले नै राजीनामा दिएका छन् । 

 

‘सहज तरिकाले काम गर्ने वातावरण नभएको र आफ्नो जिम्मेवारी पूरा गर्न गाह्रो हुने देखिएकाले मैले क्रिकेट बोर्डबाट राजीनामा दिने निर्णय गरेको हूँ’, सेथीले ट्वीटर मार्फत् सार्वजनिक गरेको राजीनामा पत्रमा उल्लेख छ । 

 

‘क्रिकेट बोर्डले आगामी दिनमा क्रिकेट टिमलाई अझ सशक्त बनाउदै राम्रो प्रस्तुतिका लागि वातावरण वनाइदिने छ भन्ने मैले विश्वास लिएको छु’, उनले भनेका छन् । 

 

प्रधानमन्त्री खानले सेथीको ठाउँमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्का पूर्व अध्यक्ष हसन मानीलाई नियुक्त गरिसकेका छन् । उनलाई नियुक्त गरेपछि खानले ट्वीटरमा लेखेका छन्, ‘मानीले आफ्नो काममा मूल्यवान् अनुभव र व्यापक परिवर्तन गराउनुहुने छ ।’

 

पदत्याग गरेका सेथी पाकिस्तानको राष्ट्रिय साप्ताहिक द फ्राइडे टाइम्सका सम्पादक समेत हुन् । त्यस पत्रिकामा खानको व्यङग्यात्मक नियमित स्तम्भ पनि छापिने गथ्र्यो । 

 

सन् २०१६ मा सेथीकै नेतृत्वमा पाकिस्तान सुपर लिग आयोजना गरिएको थियो । त्यसलाई पाकिस्तानमा २० वर्षमाथिको क्रिकेट खेलको विकासमा ठूलो योगदान पुर्‍याएको प्रतियोगिताका रुपमा लिइन्छ । टी–ट्वान्टी टिममा पाकिस्तान अहिले पनि विश्वकै अग्रस्थानमा रहेको छ । 

पाकिस्तान

विशेष