मुख्य समाचार

प्रधानन्त्रीको आश्वासन- कञ्चनपुर घटनाका दोषीले उन्मुक्ति पाउदैन

प्रधानन्त्रीको आश्वासन- कञ्चनपुर घटनाका दोषीले उन्मुक्ति पाउदैन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुर घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् । घटनाका विषयमा प्रधानमन्त्री ओली र नेपाल कम्युनिस्ट पार्टी (नकेपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ध्यानाकर्षण गर्न आएका नेकपाका तर्फबाट कैलाली र कञ्चनपुरका सांसद तथा नेतासँग कुरा गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा घटनाका दोषीलाई कारवाही गर्न, पीडित परिवारलाई क्षतिपूर्ति दिन र शान्ति सुरक्षाको अवस्थालाई सामान्य बनाउन माग गर्दै नेकपाका स्थायी समिति सदस्य भीमबहादुर रावल, लेखराज भट्टलगायत नेताले आज ध्यानाकर्षण गराएका छन् । 

प्रधानमन्त्री ओलीले घटनालाई सरकारले गम्भीररुपमा लिएकाले छानबिन समिति गठन गरेर काम अघि बढाएको उल्लेख गरे । ‘कञ्चनपुर घटनाको आवरणमा हिंसा भड्काउने प्रयास भएका छन् । यसमा सरकार गम्भीर छ’, प्रधानमन्त्री ओलीले भने, ‘त्यस्ता व्यक्तिको पहिचान गरी कारवाही गर्न र स्थितिलाई सहज बनाउन सुरक्षा निकायलाई निर्देशन दिइसकिएको छ ।’

प्रधानमन्त्री ओलीले आन्दोलनको बहानामा व्यक्तिगत र सार्वजनिक सम्पत्तिको तोडफोड गर्नेलाई कानूनबमोजिम कारवाही गर्न सरकारले आवश्यक प्रक्रिया शुरु गरेकोसमेत जानकारी दिए। घटनामा आशङ्का गरिएका व्यक्तिलाई अनुसन्धानको घेरामा ल्याउन र दोषी भए कडा कानूनी कारवाही गर्न सरकारले कुनै कसर बाँकी नराख्ने उनले बताए । 

नेकपाका स्थायी समिति सदस्य रावलको नेतृत्वको टोलीले प्रधानमन्त्री ओली र अध्यक्ष दाहाललाई आज बालुवाटारमा भेटेर घटनाका बारेमा जानकारी गराउँदै दोषी पत्ता लगाउन र कारवाही गर्न माग गरेको थियो । 

नेकपाको शनिबार बसेको सचिवालय बैठकले कञ्चनपुर घटनाका दोषीलाई कारवाही गर्न र पीडित परिवारलाई राहत दिलाउन आग्रह गरेको थियो । तेह्र वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयलाई लिएर पछिल्ला केही दिनदेखि कञ्चनपुर अशान्त रहँदै आएको छ । सरकारले सो घटनाको छानबिनका लागि उच्चस्तरीय छानबिन समितिसमेत बनाइसकेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओली कञ्चनपुर घटना पुष्पकमल दाहाल ‘प्रचण्ड’ नकेपा

विशेष