कभर स्टोरी भिडियो

देउवाजी याद राख्नूहोस् ! तपाईंले नचाहे पनि  महाधिवेशन हुन्छ (भिडियोसहित)

देउवाजी याद राख्नूहोस् ! तपाईंले नचाहे पनि  महाधिवेशन हुन्छ (भिडियोसहित)

काठमाडौं । नेपाली कांग्रेसको नर्सरी संगठन नेपाल विद्यार्थी संघको महाधिवेशनलाई लिएर हाल विवाद सिर्जना भइरहेको छ । पार्टी स्थापनाकालदेखि नै प्रत्येक दुइवर्षमा महाधिवेशन हुनुपर्ने विधान तोकिएको भएता पनि पार्टीको हस्तक्षपको कारण नियमित रुपमा अधिवेशन हुन नसकेको संघका सहमहामन्त्री परमेश्वर साहले बताए ।

 

नेपाल विद्यार्थी संघ कांग्रेसको आधार हो । संघबाट नै कांग्रेसको उत्पादन हुने हो । तर, विविध कारणवस यो संगठनलाई कमजोर बनाइँदै गरेको साह दावी गर्छन् । उनले थपे, ‘जबसम्म यसको नियमित अधिवेशन हुँदैन तबसम्म कांग्रेस बलियो हुन सक्दैन ।’


आफ्नो कार्यकाल सकिएको दुई वर्ष बितिसके पनि अझै महाधिवेशन हुनमा ढिलाई भएको उनले दुखेसो पोखे । साहका अनुसार, पार्टीको निर्देशन समिति बसेर तीन महिनाको म्याद थप्यो । तर म्याद थपेर पनि महाधिवेशन हुन्छ या हुन्न भन्ने कुरा अझै अन्योल छ । महाधिवेशन सम्पन्न गराउने कामबाट संघका अध्यक्ष नैनसिंह महर पन्छिरहेको उनले आरोप लागए । पछिल्लो समय आफूहरुले जति नै कोसिस गरे पनि संघका अध्यक्ष डरले भागेको भाग्यै गरेको साहको भनाइ छ । सम्भावित गणतीय हारका कारण डराएर अध्यक्ष भागेको उनले जिकिर गरे । 

 

विगतका दिनमा नेपाल विद्यार्थी संघले राम्रो भूमिका निर्वाह गर्न नसकेको स्वीकार गर्दै साहले भने, ‘शैक्षिक एजेन्डाको साथ अघि बढ्नुपर्ने, संघीयतालाई सहयोग गर्नुपर्ने, स्ववियू निर्वाचन पनि हुन नसक्नु, स्थानीय निर्वाचन निर्वाचन, संसदीय निर्वाचन या अन्य कतै पनि विद्यार्थीलाई राम्ररी परिचालन गर्न नसक्नु संघका मुख्य त्रुटि भए । तर यो हुँदैमा पार्टीले यसमा हस्तक्षेप गर्नु हुँदैन ।’   

 


म्याद थपेर पनि अधिवेशन गर्न वातावरण तयार भएन भने आफूहरू बहुमतको साथ अघि बढ्ने उनले जानकारी दिए । ‘हामीसँग १२१ निर्वाचित सदस्य जितेर आएका छन् । त्यसमा बहुमत जुटाएर त्यसको आधारमा महाधिवेशनमा जान्छौं । यसमा केन्द्रिय कार्यालयबाट मान्यता हुनैपर्छ भन्ने छैन । शेरबहादुरजी मात्र हैन त्यहाँ रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला पनि छन् । उहाँहरु आएर उद्घाटन भयो भने वैधानिक रुपमा महाधिवेशन सम्पन्न हुन्छ ।’ उनले प्रष्ट पारे ।  

 

कांग्रेस डेमोक्रेयाटिक पार्टी भए पनि पार्टीले गर्दै आएको क्रियाकलाप र व्यवहार डेमोक्रेटिक नभएको धेरैले टिप्पणी गर्ने गर्छन् । मूलभूत रूपमा पार्टी स्वयं र भातृ संगठनमा हुने सधैंको किचलो सामाधान गर्न सबै काम विधानअनुसार चल्नुपर्ने साहको ठम्याइ छ । उनले जोडे, ‘दुई वर्षमा अधिवेशन गरेको भए यस्ता समस्या नै आउँदैनथ्यो ।’

 

साहले अहिलेको अवस्थामा पार्टीमा सभापति शेरबहादुर देउवालाई बहुमत नभएको पनि बताए । हाल नेपाली कांग्रेस प्रमुख प्रतिपक्ष दलको स्तरमा ओर्लिनुमा सभापति शेरबहादुर देउवा बढी भागेदार भएको उनले जनाए । निर्वाचनमा पराजय हुनुको कारण आफू पनि भएको देउवाले अहिलेसम्म स्वीकार गरेका छैनन् । गाउँ गाउँ र जिल्ला जिल्लामा अहिले पनि नेपाली कांग्रेसको बहुमत भएको तर गलत प्रतिनिधिलाई चुनावको टिकट दिएकै कारण हार खानुपरेको उनले जिकिर गरे । उनले भने, ‘पार्टीले यस्तो व्यक्तिलाई टिकट दियो जसलाई जनताले नै मन पराएनन् । यसको जिम्मा सिधै पार्टी सभापतिले लिनुपर्छ ।’

 

अबको दिनमा महाधिवेशन भए या नभए तापनि उनीहरु विद्यार्थी संघलाई फुटाउने र कुनै अर्को संघ खडा गर्ने पक्षमा भने छैनन् । संघ भित्रै रहेर आफूहरू संघर्ष गर्ने कुरा उनले बताए । हाल उनीहरूबाट पार्टीलाई घच्घचाउने काम जारी नै रहेको जानकारी दिँदै उनले केही ठूला नेताले बाहिरबाट महाधिवेशन गराउनुपर्छ भनेपनि केन्द्रमा भने कुरा नराखेको गुनासो व्यक्त गरे । ‘महामन्त्री शशांक कोइरालाले नेपाल विद्यार्थी संघको विषयमा चासो दिनु भएकै छैन । उहाँसँगको भेटमा महाधिवेशन हुनुपर्छ र गर्नुपर्छ भन्नुहुन्छ तर यो विषयलाई केन्द्रिय समितिमा उठाउनुहुन्न ।’
अबको दिनमा आफूहरु पदाधिकारी बैठक बसेर छिटो भन्दा छिटो महाधिवेशन मिति तोकेर अघि बढ्ने कोसिस गर्ने उनले बताए ।

नेपाल विद्यार्थी संघ नेपाली काँग्रेस परमेश्वर साह

विशेष