नाम लम्बोदर, काम लोदर !
काठमाडौं । भक्तपुरको चाँगुनारायणस्थित नेपाल इञ्जिनियरिङ कलेज डुबाएर २१ सय विद्यार्थीको भविष्य अन्यौलमा पार्ने व्यक्ति लम्बोदर न्यौपानेले अहिले सबैलाई ‘जिना हराम’ गरिदिएकाे चर्चा हुन थालेकाे छ ।
कलेजका पुराना एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा भने, – लम्बोदर भन्ने व्यक्ति यतिसम्म धूर्त रहेछन् कि उनले नेपाल इञ्जिनियरिङ कलेजको सबै सम्पत्ति आफ्नो निजी कम्पनीको नाममा सारेछन् । ७४ सालमा नयाँ कम्पनी खोलेर सार्वजनिक कलेजलाई आफ्नो बनाउने प्रपञ्च रच्ने व्यक्ति नै लम्बोदर न्यौपाने रहेछन् ।
प्रचण्ड प्रधानमन्त्री भएको बेला यिनको बास नै बालुवाटार ढूक्ने हुँदो रहेछ–जानकार स्राेत भन्छ । कसैलाई बोलाउनु पर्यो भने ‘म प्रधानमन्त्री निवास बालुवाटारमा छु, यतै आउनू’ भन्दा रहेछन् । त्यति मात्रै होइन, प्रधानमन्त्री प्रचण्डले मलाई नसोधी केही निर्णय गर्न सक्दैनन्, अनि मैले बालुवाटार छाड्नै मिल्दैन भनेर फूर्ति लगाउने यिनकाे करतुत एकपछि अर्काे गरी सार्वजनिक भइरहेकाे लम्बाेदर निकटस्थहरूले नै बताउन थालेका छन् ।
कलेजका सञ्चालकहरु सूर्यबहादुर केसी, लवराज भट्टराई, उपेन्द्र गौतम र रामरत्न उपाध्यायले सार्वजनिक सम्पत्तिका रुपमा स्थापित कलेजलाई बेचेर खाने खुलेआम प्रपञ्च गरेकाे चर्चा छ । यसका लागि उनीहरुले कलेजकै धन उपयोग गरे । लम्बोदर ७० साल मंसिरमा अध्यक्ष भएपछि उनले बिना प्रयोजन विभिन्न मितिमा कलेजको ३१ करोड उम्काएछन् । त्यसलाई अहिले कलेजले बेरुजुका रुपमा राखेको छ । बेरुजु पनि एक किसिमको अनियमितता नै हो ।
त्यही ३१ करोड रुपैयाँले उनले राजनीतिक दल, नेता, पत्रकार, प्रशासक सबैलाई किनेर ३६ रोपनी जमिनमा फैलिएको १ लाख बर्गमिटर भवन हडप्न प्रयोग गरिरहेकाे अाराेप छ उनीमाथि । आफ्नो पैशा प्रयोग गरेर सार्वजनिक धन हत्याउन खोज्नेहरु त कति छन् कति । यहा त कलेजकाे धन प्रयाेग गरेर कलेज नै हात पार्ने खाेजेजस्ताे देखिन्छ ।
यो कलेजले शिक्षामन्त्रालयबाट प्राप्त गर्नु पर्ने आधिकारिता प्राप्त गरेको छ । इञ्जिनियरिङ काउन्सिलमा दर्ता भएको छ । पोखरा विश्वविद्यालयको सम्बन्धन पनि छ । तर जिल्ला प्रशासन कार्यालय भक्तपुरले नवीकरण गरिदिएको छैन । १७ वर्षदेखि नविकरण नगर्दा संस्थाको बैंक खाता रोक्का भएको छ । अहिले कलेजका कर्मचारीहरुले दुई चार सय किलो भन्दा भारी लकर किनेर कार्यालयमा राखेका छन् । त्यही लकरमा पैसा राखेर काम चलाउँदै आएका छन् ।
बिहीबार संसदको शुन्य समयमा भक्तपुरका सांसद महेश बस्नेतले पनि नेपाल इञ्जिनियरिङ कलेज निजी बनाएर बेचेर खाने प्रपञ्च भइरहेको भनेर सरकारको ध्यान आकर्षण गराएका थिए । बस्नेतले लम्बाेदरलाइ नै संकेत गरेर कलेजमा माफियाकाे चुंगलमा फस्न लागेकाे बताएका थिए ।
सार्वाजनिक भन्ने त केही देख्नै नहुने भएको छ माफियाहरुले । चाहे सार्वजनिक जमिन होस वा सम्पत्ति हडपिहाल्ने योजना बनाउँदा रहेछन् भन्ने देखिएको छ । नेपाल इञ्जिनियरिङ कलेजकाे हकमा पनि कतै त्यस्तै हुन लागेकाे त हाेइन ? प्रश्न उब्जेकाे छ ।
सार्वजनिक सम्पत्तिका रुपमा रहेको नेपाल इञ्जिनियरिङ कलेज हडप्न खोजेकाे अाराेप खेपिरहेका लम्बोदरसँग कुराकानी गर्न उनकाे माेबाइलमा तीन पटकसम्म कल गर्दा पनि उनले फोन उठाएनन् ।