कभर स्टोरी भिडियो

नेपाल प्रहरीका पूर्वडिआइजी भन्छन, 'अब निर्मला पन्तका हत्यारालाई कसैले जोगाउन सक्दैन' (भिडियोसहित)

नेपाल प्रहरीका पूर्वडिआइजी भन्छन, 'अब निर्मला पन्तका हत्यारालाई कसैले जोगाउन सक्दैन' (भिडियोसहित)


काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि अहिले नेपाली समाज तरंगीत छ । घटनाको अनुसन्धान राम्रोसँग नगरेको स्थानीयको आरोपपछि अहिले सरकारले जिल्लाका सिडियो, एसपी, डिएसपीलाई मन्त्रालय तानिसकेको छ । घटनाको अनुसन्धान नयाँ विन्दुबाट सुरु भएको छ । यो घटनामा के प्रहरीले नियत देखाएकै हो त ? वास्तविक अपराधिलाई छाड्ने प्रपञ्च रचेकै हो त ? सम्भावनाहरु के के हुन सक्छन् ? घटनाबारे अहिले अनुमान गर्न सकिने विषयहरु के के हुन् ? भन्ने विषयमा नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्लसँग हामीले कुराकानी गरेका छौं । यस घटनाका सम्बन्धमा पूर्वडिआईजी मल्लले यस्ता धारणा राखेका छन्ः 

 

‘ कुनै पनि घटनाको सम्बन्धमा अनुसन्धान गर्ने निकायले समय समयमा अनुसन्धानका विषयहरु सार्वजनिक गर्दै गयो भने जनता पनि विश्वस्त हुन्छन् । बिल्कुल गरेन भने शंका उत्पन्न हुन्छ । अनुसन्धानमा भएका विषयहरु सबै कुरा सार्वजनिक पनि गर्न मिल्दैन । मिल्ने जति गर्दै जानु पर्छ । अनुसन्धान गर्न नजान्नेले कुरा बिगार्छ । पीडित परिवार वा निकटहरु पनि अनुसन्धानमा जोडिएका हुन्छन् । सबै अनुसन्धानमा सहभागी हुन खोज्छन् । जसका कारण केही अन्यौलता पनि हुन्छ । कञ्चनपुर घटनामा प्रहरीले आफ्नो तर्फबाट प्रमाण जुटाएको छ । हरेक अनुसन्धानमा प्रमाण र आधारहरु समाजले पनि दिन्छन् । कञ्चनपुर घटनामा पनि समाजले आधारहरु दिएको छ । तर प्रहरीको आफ्नै तर्क र प्रमाण छन् । जसका कारण अलिकति तनाव उत्पन्न भयो भन्ने लाग्छ । 

 

हामीले यहाँ बसेर कुरा गरेर अनुमान लगाउन सक्दैनौं । हामीले बझे भन्दा फरक हुन्छ ग्राउन्ड रियालिटी । अब छानविन समिति गठन भएको छ । सुरुदेखि अनुसन्धान हुदैछ । ट्रयाक परिवर्तन पनि हुन सक्छ । पहिलेकै अनुसन्धानअनुसार पनि विषय अगाडि बढ्न सक्छ । 

 

अनुसन्धान भनेको २४ घण्टामा टुंगिन पनि सक्छ । वर्षौं लाग्न पनि सक्छ । भन्नेबित्तिकै अपराधी समाउन सकिदैन । गृहमन्त्रीले साउन १७ मा संसदमा दुई अभियुक्त पक्राउ परिसकेका छन् भन्नु गलत हो । त्यस्तो भन्नु हुँदैन थियो । किनभने अनुसन्धानमा रहेको विषयमा ठूला मान्छेले बोलिहाल्नु हुँदैन । अपराधीहरु यति दिनमा, उतिदिनमा पक्राउ पर्छन् भन्नु पब्लिक स्टन्ट मात्रै हो । 

 

निर्मला पन्त जुन घरमा गएकी थिइन्, त्यो घरका मानिसहरु पनि संलग्न हुन्छन् । केही आधारहरुले घटना रहस्य उत्पन्न गरेको छ । अनुसन्धान शुन्यबाट सुरु गर्ने भनेको छ । छानविन र अनुसन्धान दुई समिति बनाइएको छ । पहिलेको अनुसन्धान ठिक थियो कि बेठीक भन्ने कुरा छानविन समितिले गर्छ । 



हामी जे कुरा शंका गर्छौं कहिलेकाही त्यो असत्य हुन्छ । अनुसन्धान हुनु पर्छ, कारबाही हुनपर्छ भनेर आउनेहरु नै कहिलेकाही अपराधी हुन्छन् । हामीले नसोचेका पात्रहरु नै अपराधी हुन सक्छन् । अर्को कुरा प्रहरी सबै अनुसन्धानमा निपूण हुँदैनन् । सबै अनुसन्धानकर्ता हुँदैनन् । प्रहरीले मौकामा गर्नु पर्ने अनुसन्धान गरेको रहेनछ भने त्यस्तो अनुसन्धान लम्बिन सक्छ । 

 

आम मानिसको बुझाई र विज्ञको दृष्टि फरक हुने नै भयो । तराईका एक पूर्वसांसदको हत्या भयो । अनेक शंका गरियो । तर त्यो हत्या उनकै पत्नी र छोरी मिलेर गरेका थिए । रणबहादुर बमको हत्याका विषयमा पनि अनेक शंका भए हत्यारा अर्कैै निस्कियो । यस्तो हुन्छ । यसैकारण हामीले कुनै पनि घटनाको निष्कर्ष निकाल्न हतार गर्नु हुँदैन । अनुसन्धान र प्रमाणले हो नभनेसम्म हामीले शंका गर्न सक्छौं । एकिन होइन । 

 

ब्युरोक्रेसी सामन्ती प्रवृत्तिको छ । कार्यालयका हाकिम, कर्मचारीहरुले आफूलाई शासक सम्झन्छ । आफन्त हराए भनेर जाँदा  प्रहरीले पनि ‘खोजौला’ भनेर टारिदिन्छ । यो हाम्रो समग्र सिस्टमको कमजोरी हो । प्रहरीमा पनि छ । अन्यत्र पनि छ । प्रहरीलाई जवाफदेही बनाउन जरुरी छ । 
निर्मलाको हत्याको सम्बन्धमा प्रहरीले सुरुदेखि नै एक एक प्रमाण, आधार संकलन गर्नु पथ्र्यो । त्यो भएको पनि होला । अब सिआइबीको पनि टोली पुगेको छ । अब चाहेर पनि कसैले कसैलाई जोगाउन सक्दैन । अनुसन्धानको ट्रयाक बदलिन सक्छ ।’ 

 

निर्मला पन्त पूर्वडिआइजी हेमन्त मल्ल

विशेष