खेल

श्रीलंकाद्वारा नेपाललाई २१७ रनको लक्ष्य, सोमपालले लगे ३ विकेट !

श्रीलंकाद्वारा नेपाललाई २१७ रनको लक्ष्य, सोमपालले लगे ३ विकेट !

काठमाडौँ । श्रीलंकाको कोल्ट्स क्रिकेट क्लबले नेपाललाई २१७ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । उसले ४९ दशमलब ५ ओभरमा सबै विकेट गुमाउँदै नेपाललाई २१७ रनको लक्ष्य प्रस्तुत गरेको हो । 

कोल्ट्सका लागि हसन हेवानले सर्वाधिक ५९, आयानाले ३६ र मदुरा लक्मलले २४ रन बनाउनु बाहेक अरुको प्रर्दशन सम्झनलायक रहेन । 

बलिङमा नेपालका लागि सोमपाल कामीले ३, करण केसी र सागर पुनले समान २-२ विकेट लिदा ललित राजवंशीले १ विकेट लिन सफल भए ।  नेपालले केही समयमा जवाफी ब्याटिङ गर्नेछ । 

तीन दिनपछि मलेसियामा हुने एसिया कप छनोटका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्यहाँका विभिन्न तीन क्लबसँग खेलेकाे हाे । 

आज नेपालले अन्तिम तथा तेस्रो अभ्यास खेल श्रीलंकाको कोल्ट्स क्रिकेट क्लबसँग खेलिरहेको छ । आजको खेलपछि नेपाली क्रिकेट टोली सोमबार एसिया कप छनोट खेल्का लागि मलेसिया प्रस्थान गर्नेछ । एसिया कपको छनोट खेलमा टेष्ट खेल्ने बाहेक उत्कृष्ट ६ एसोसिएट टोलीले मलेसियामा अगष्ट २९ देखि सेप्टेम्वर ६ सम्म खेल्नेछन् ।

उक्त प्रतियोगितामा एकदिवसीय मान्यता प्राप्त नेपाल र युएईसहित हङकङ, ओमान, सिंगापुर र आयोजक मलेसियाबीच राउण्ड रोविनमा प्रतिस्पर्धा हुनेछ ।

लिगपछि शीर्ष दुई स्थानमा रहने टिमबीच फाइनल हुनेछ र त्यस खेलको विजेता सेप्टेम्बरमा युएईमा हुने एसिया कपको लागि छनोट हुनेछ । छनोटको विजेताले एसिया कपको समूह चरणमै भारत र पाकिस्तानसँग खेल्ने मौका पाउने छ ।

क्रिकेट नेपाल भर्सेस श्रीलंका

विशेष