मदन पुरस्कार-२०७४ ‘योगमाया’लाई, जगदम्बा-श्री शान्तदास मानन्धरलाई
काठमाडौं । २०७४ सालको मदन पुरस्कार निलम कार्की निहारिकाको उपन्यास योगमायालाई र जगदम्बा-श्री शान्तदास मानन्धरलाई प्रदान गरिएको छ । मदन पुरस्कार गुठीको आज बसेको बैठकले निहारिका र मानन्धरलाई सो पुरस्कार दिने निर्णय गरेको हो । गुठीको आज ११ भदौमा बसेको बैठकले उक्त निर्णय गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए ।
मदन पुरस्कार वर्षभर प्रकाशित उत्कृष्ट कृतिमध्ये एक कृतिलाई र जगदम्बा-श्री नेपाली भाषा, संस्कृति, साहित्य लगायतका विविध क्षेत्रम विशेष योगदान दिएवापत व्यक्तिलाई प्रदान गरिन्छ । शान्तदास मानन्धर लामो समयदेखि बालसाहित्यमा उल्लेख्य योगदान दिएका व्यक्ति हुन् ।
२०७४ को मदन पुरस्कारका लागि निहारिकाको योगमाया सहित उपन्यासहरु- सरस्वती प्रतिक्षाको नथिया, तीर्थ गुरुङको पाठशाला, ध्रुबसत्य परियारको कथा संग्रह कैरन, गैरआख्यान कृतिहरु- मोहन वैद्यको हिमाली दर्शन, नयनराज पाण्डेको यार, यज्ञशको भुइँया र राज माङलाङको कविता संग्रह लिम्बुनी गाउँ छनोट भएका थिए ।
२०१२ सालमा रानी जगदम्बाले स्थापना गरेको मदन पुरस्कार पहिलोपटक वि.सं. २०१३ सालमा हाम्रो लोक संस्कृतिका लागि सत्यमोहन जोशीलाई प्रदान गरिएको थियो भने २०४५ सालमा रानी जगदम्बाको निधनपछि उनको सम्झना स्वरुप जगदम्बा–श्री पुरस्कार घोषणा गर्न थालिएको हो । दुबै पुरस्कारको राशी दुई-दुई लाख रुपैयाँ छ ।
निलम कार्की निहारिका योगमाया जगदम्बा-श्री शान्तदास मानन्धरलाई मदन पुरस्कार