आज गाईजात्रा पर्व मनाईंदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
काठमाडौं । आज देशका विभिन्न स्थानमा गाईजात्रा पर्व मनाइँदै छ ।
आजकै दिन वर्षभरि दिवंगत भएका आफन्तको नाममा गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर शहर परिक्रमा गर्ने चलन छ । यसो गर्दा मृतात्माले यमलोक जाँदा बाटोमा पर्ने बैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भन्ने धार्मिक विश्वास छ ।
कतिपयले भने साच्चिकै गाईलाई सिंगारेर नगर परिक्रमा गर्छन् । तर, जोगीको भेष धारण गरि रंगीबिरंगी कपडा, मुखुण्डो, पेरुङ्गाको टोपी तथा लामो जामा र पटुका लगाएर सांस्कृतिक बाजागाजासहित नगर परिक्रमा गर्ने चलन छ ।
नगर परिक्रमा गर्दा दिवंगत आफन्तको सम्झनामा विभिन्न भोजन गराइन्छ भने पछिल्लो समयमा मुलुकको राजनीति तथा सामाजिक विसंगतिप्रति व्यंग्य गरेर पनि यस पर्व मनाउन थालिएको छ ।
काठमाडौं उपत्यकालगायत मुख्य रुपमा नेवार समुदायको बाक्लो वस्ती रहेका शहरहरु बनेपा, धुलिखेल, त्रिशुली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगन्ज, हेटौंडा, पोखरा र तानसेनमा पनि यो पर्व मनाइन्छ ।
काठमाडौ उपत्यकामा तत्कालीन राजा प्रताप मल्लकी रानी आफ्नो छोरा चक्रप्रतेन्द्र मल्लको मृत्यु शोकमा डुबेपछि रानीलाई सान्त्वना दिन प्रताप मल्लले शहरमा वर्षभरी कति जनाले आफन्त गुमाए, कतिजनालाई यस्तै शोक पर्यो भनेर देखाउन यो जात्रा निकाल्न थालेको विश्वास छ ।
गाईजात्राका अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदासमेत दिइएको छ ।
गाईजात्रा