बिम्सटेक सम्मेलनले नेपालको अन्तर्राष्ट्रिय बेइज्जत भइरहेको छ (भिडियाेसहित)
ओलीका लागि त सबै फोकटमै मिल्छ, के सस्तो, के महंगाे ?
काठमाडौं । डा. प्रेमसिंह बस्न्यात नियमित भिडियो स्तम्भ ‘स्ट्रेट फरवार्ड’का लागि बोल्ने गर्नु हुन्छ । नियमित स्तम्भमा डा. बस्न्यातले यसपटक बिम्स्टेक सम्मेलन बेकार हो भन्नु भएको छ । भारत भन्ने मुलुक खराब छिमेकी हो भन्ने दोहोर्यानु भएको छ । विद्या भण्डारी जनताबाट गएर पनि उनमा श्री ५ बडामहारानीको फूर्ति देखिएको बस्न्यातको दाबी छ । उहाँले नेपालआजसँग एक घण्टा लगाएर व्यक्त गर्नु भएको धारणाको मुख्य अंशहरु निम्नानुसार छन्ः
‘केपी ओलीलाई मैले निर्वाचनको बेलामा उनको समर्थन गरेर आफ्ना धारणाहरु सार्वजनिक गरेँ । यद्यपि म तत्कालीन एमालेको मान्छे होइन । केपी ओलीबाट अभिव्यक्त भएका राष्ट्रवादी भावना र एक दुष्ट छिमेकीविरुद्ध उनले लिएको अडान प्रशंसनीय थियो । त्यो अडान देखेर मैले उनलाई समर्थन पनि गरे ।
तर जब निर्वाचनपछि उनी प्रधानमन्त्री भए । उनका विचारहरु बाहिर आउन थाले । प्रधानमन्त्री केपी ओली यति बोल्न थाले कि उनले भाषणका सबै हदहरु पार गर्न थाले । प्रधानमन्त्री भएको एकाध महिनासम्म त उनले बोलेका कुराहरु मानिसहरुले स्भाविक मानिरहेका थिए । तर छ महिना बितिसक्दा पनि उनी बोलि नै रहेका छन् । काम केही छैन तर भाषण अनवरत चलिरहेको छ ।
एक महिनाअघिदेखि सञ्चालनमा रहेको गोबर ग्यासको प्लान्ट उद्घाटन गर्न जाने, काठमाडौंमा संसारभरका मानिसहरु स्वच्छ हावा खान आउने भन्ने प्रधानमन्त्रीका अभिव्यक्ति फगत गफमा स्थापित भए ।
करको आतंक डरलाग्दो छ । सानो मुलुकमा तीन तहको सरकार चल्न सक्दैन भनेको थिएँ मैले । केही वर्षको तयारीपछि संघीयतामा जानु ठिक हुने विचार राखेको थिएँ । तर अहिले त जनताभन्दा बढी कर्मचारी हुने व्यवस्था आयो ।
राजा महाराजाको विरोध हुन्थ्यो । युवराज युवराज्ञीहरुको विरोध हुन्थ्यो । तर प्रचण्डका सपरिवार जन्मिदै नेता जस्तो भएका छन् । राज्यका विभिन्न निकायमा मोजमस्ती गरिरहेका छन् । बाबुराम भट्टराईले आफ्ना जेठी सासूहरुलाई कसरी राज्यका विभिन्न तहमा पुर्याए । इन्जिनियरिङ पढेकालाई लोकसेवाको अध्यक्ष बनाइदिए । हामीले यस्तै व्यवस्थाका लागि गणतन्त्र ल्याएको त होइन । वंशवाद, भ्रष्टाचार, गुण्डा, पश्चिमाको एनजिओले मुलुक बर्बाद पार्यो ।
प्रधानमन्त्रीले अन्टसन्ट बोल्दा उहाँको लोकप्रियता घट्छ । उहाँका सल्लाहकारले पनि के सल्लाह दिन्छन् होला ? अचम्म लाग्छ ।
फ्रान्सको नेपालेलियन सडकको केटो थियो । राजनीतिमा आएर ठूलो शासक भयो । आफ्नो धरातल विर्सियो । अन्तिममा एउटा समुद्रको टापुमा बन्दी भएर त्यही मर्यो त्यो । भोट माग्ने बेला जनताको बीचमा जाने अनि मन्त्री प्रधानमन्त्री भएपछि सडक खाली गराएर सवारी चलाउनेहरुको हालत पनि नेपोलियनको जस्तै नहोला भन्न सकिन्न ।
हाम्रा नेताहरुले राणा, शाहको इतिहास पढे । तर अहिलेका शासकहरुले पनि तिनै पुराना शासकको पदचाप पछ्याइरहेका छन् । मदन भण्डारीकी पत्नी विद्या भण्डारीलाई हेर्नुस त । उहाँ त श्री ५ बडामहारानी ऐश्वर्य भन्दा पनि महारानी भएकी छिन् ।
अहिले त पूर्वगृहमन्त्री समेत पहिलेका अधिराजकुमार भन्दा बढी फूर्ति लगाएर हिँडने गरेका छन् । राजा ज्ञानेन्द्रले छाडेको थोत्रा जुत्ता लगाएर केपी ओली हिँडिरहेका छन् । गाडीका लस्कर लगाएर, सडक खाली गराएर हिँडने गरेका छन् । कपडाको शौखिन राजालाई उनका चम्चेहरुले नदेखिने कपडा लगाइदिन्छन् । जुन कपडाविहीन हुन्छन् । एक सानो बच्चाले त्यो कुरा राजा त नांगै छन् भनिदिन्छन् । त्यस्तै हो अहिलेको अवस्था । अहिलेका नेताहरु पनि नांगै छन् ।
प्रधानमन्त्री केपी ओलीले कुनै पनि कुरामा खर्च गर्नु पर्दैन । पैसा तिर्नै पर्दैन । यसकारण उहाँको लागि नेपाल संसारको सबैभन्दा सस्तो सामान पाइने देश हो । नेपालमा कर पनि सबैभन्दा कम छ पनि ठिकै हो । किनभने उहाँले कर तिर्नै पर्दैन ।
उहाँलाई घडी सित्तैमा आउँछ, कार सित्तैमा आउँछ, रासन सित्तैमा आउँछ । अनि उहाँले नेपाल सस्तो र कम कर तिर्नु पर्ने मुलुक देख्नु कुन अनौठो भयो ? पानी, मीठाई सबै सित्तैमा छ । भारतमा ३ लाख पर्ने कारलाई नेपालमा १५ लाख तिर्नु पर्छ । अमेरिकामा भन्दा महंगो खाद्यपदार्थ नेपालमा छ । न्युयोर्कभन्दा महंगो जमिन काठमाडौंमा छ ।
नेपाल अति नै महंगो छ । अमेरिकीको आय र त्यहाँको बजारभाउ हेर्नुस । नेपालको हेर्नुस । अनि हावाको तालमा नेपाल सस्तो छ भन्ने ?
गरिबका लागि दुई छाक टार्न मुस्किल छ । केपी ओलीको वर्गले फोकटिया मै पाउँछ सबै । अनि नेपाल सस्तो हुने नै भयो । सस्तो पनि होइन फोकटको मुलुक हो ।
बिम्सटेक
विम्स्टेक सम्मेलनका लागि काठमाडौं सिँगारिदै छ । सडक चिल्ला पारिदैछ । यो अन्तर्राष्ट्रिय बेइज्जत हो नेपालको । जुन जुन मुलुकका कार्याकारी प्रमुखहरु नेपाल आउँदैछन्, तिनका प्रतिनिधि काठमाडौं मै छन् । तिनका आँखामा पट्टि बाँधिएको छैन ।
आफ्नो गरिबी लुकाउने कर्म हो यो । सुतुरमुर्गले डराएर लुक्दा टाउको मात्रै लुकाउँछ । शरिर ठूलो हुन्छ । शरिर लुक्दैन । हो त्यस्तै हो अहिलेको यो रमझम पनि । जनता ठग्ने काम मात्रै हो । अहिले घण्टौ जाम हुन्छ । लाज छोप्ने काम मात्रै हो ।
विम्सेटकका लागि नेपालल खर्च गर्नु बेकार हो । नेपाल मागी खाने मुलुक बनाए नेताहरुले । हाम्रो राजदूतले दाँत देखाएर भारत भ्रमणको चाँजो मिलाउनु पर्छ । चीन र भारतबाहेक अन्यत्र यि नेताहरु प्रवेश नै गर्न सक्दैनन् । यिनले नेपाललाई भारत र चीनमै सिमित पारे । भारत चीनबाहेक तेस्रो मुलुकमा खै नेपाली प्रधानमन्त्री भ्रमणमा गएको ? नेपालका यि खलपात्रलाई संसारले पत्याउन छाडेकोछ ।
फोकल्याण्ड युद्धको आसपाससम्म हामीलाई युरोप, हङकङमा हामी नेपालीलाई भिसा चाहिँदैन थियो । हामीलाई विश्वका कुनै मुलुकले पत्याउँदैन । जो नालायक हुन् उनलाई पत्याउँछन् । कृष्ण हाछेथु, सिके लाल जस्ता पात्रहरु पत्याइएका छन् ।
माओवादी जनयुद्ध समाप्त भएपछि हाम्रो संरचनालाई भारतले ध्वस्त पारिदियो । राजसंस्था पनि गयो । बाबुराम भट्टराई, श्यामशरण जस्ता नेपालका घाउहरु यो देशका पापीहरु हुन् । बाबुराम त बेकुफ मान्छे हुन् । उनलाई जनताले समातेर कालोमोसो दल्नु पर्छ ।
केपी ओलीलाई उनका हुक्कै ढोकेहरुले जयजयकार गरिदिएका छन् । अनि उनी मैले सबै राम्रै गरेको छु भन्ने भ्रम परेको छ । पहिलेका राजाहरु जसरी भेष बदलेर उनीहरु जनताबीच जाऊन् । आफ्नो बारेमा जनताले के सोच्दा रहेछन् बुझून् । अनि मात्रै थाहा हुन्छ यिनीहरुलाई आफ्नो वास्तविकता । यो वास्तविकता बुझ्ने कोसिस ओली, प्रचण्ड,बाबुरामले गरुन ।