मनोरञ्जन

अमेरिकाबाट फर्केकी श्वेतालाई स्किन इन्फेक्सन, केही दिन रेस्टमा

अमेरिकाबाट फर्केकी श्वेतालाई स्किन इन्फेक्सन, केही दिन रेस्टमा

हालै अमेरिकाबाट फर्केकी अभिनेत्री श्वेता खड्का केही दिन बेड रेस्टमा बस्नुपर्ने भएको छ । अमेरिकामा रहँदा उनलाई छालाको संक्रमण भएपछि डाक्टरहरुले आराम गर्न सल्लाह दिएका हुन् ।

 

श्वेताले फेसबुकमा आफ्नो रोगबारे जानकारी दिएकी छन् । उनले केही तस्वीर पनि पोष्ट गरेकी छन् जसमा उनको अनुहार लगायत शरीरका विभिन्न भागमा राता फोकाहरु देखिन्छन् ।


अमेरिकामा आँखाले नदेखिने साना किराको टोकाईले यो रोग लागेको डाक्टरहरुलाई उद्वृत गर्दै श्वेताले बताइन् ।

 

‘अमेरिकामा हुँदा सामान्य समस्या भएको थियो । तर, फर्किने क्रममा जहाजमै समस्या बढेपछि सोझै नर्भिक हस्पिटल गएर जचाएँ । डाक्टरहरुले केही दिन घरबाहिर ननिस्कन सल्लाह दिनुभएको छ,’ अनलाइनखबरसँग श्वेताले भनिन् । औषधी चलाउन थालेपछि केही राहत भएको उनले बताइन् ।

 

आफूले निर्माण गरेको चलचित्र ‘कान्छी’ लिएर श्वेता अमेरिका गएकी थिइन् । उनले आफ्नो अमेरिका यात्रा अत्यधिक सफल बनेको पनि जनाएकी छन् । श्वेताको ‘कान्छी’ ले नेपालमा औसत व्यापार गरेको थियो ।

 

अमेरिकाका विभिन्न शहरमा श्वेताले कान्छीका ७ वटा शोहरु गरेकी थिइन् । सबै शोमा दर्शकहरु हाउसफुल भएको उनले बताएकी छन् । 

 

अमेरिकामा उठेको पैसा आफूले निर्माण गरिरहेको माझी बस्तिमा लगाउने उनको योजना छ । श्वेताले सिन्धुपाल्चोकमा निर्माण गरिरहेको माझी वस्तिको काम अहिले अन्तिम चरणमा छ । करिब ७५ प्रतिशत काम सम्पन्न भएको उनले जानकारी दिइन् ।

 

पछिल्लो एक महिनामा पहिरोले बाटो अवरुद्ध भएकाले द्रुत गतिमा काम हुन सकेको छैन । वस्ति हस्तान्तरण भन्दा अगाडि कुनै पनि फिल्म नखेल्ने श्वेताले बताएकी छन् ।

 

‘फिल्मका अफर त थुप्रै आइरहेका छन्, तर अहिले मैले खेल्न सक्ने अवस्था छैन,’ उनले भनिन् । श्वेताले अब केही दिन आफू सामाजिक सञ्जालमा सक्रिय नरहने पनि जनाएकी छन् ।

श्वेता खड्का

विशेष