मुख्य समाचार

बिमस्टेकले नेपाललाई धेरै फाइदा हुनेछ- प्रधानमन्त्री ओली

बिमस्टेकले नेपाललाई धेरै फाइदा हुनेछ- प्रधानमन्त्री ओली

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ १४ र १५ गते हुने बिमस्टेक चौथो शिखर सम्मेलनले नेपाललार्इ धेरै फाइदा हुने बताएका छन् । 

 

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) बारे मंगलबार प्रतिनिधिसभामा जानकारी दिँदै उनले सो कुरा बताएका हुन् । 

 

बिमस्टेकले गरीबी निवारण अन्त्य गरी दिगो विकासको लक्ष्य प्राप्त गर्न, जलवायु परिवर्तनबाट उत्पन्न चुनौतीको सामना गर्न धेरै लाभ पुर्याउने प्रधानमन्त्री ओलीले बताए । 

 

उनले भने, ‘बिम्स्टेकलाई प्रभावकारी बनाउन, वातावरणको क्षेत्रमा देखिएको परिवर्तनलाई सामना गर्न, दिगो विकास लक्ष्य हासिल गर्न, सदस्य राष्ट्रका जनता-जनताबीच आवतजावत सहज बनाउन सम्पर्क सञ्जाल विस्तार गर्न तथा साझेदारी र सहयोग बढाउन सम्मेलन निकै उपयोगी हुनेछ ।’ 

 

नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का, म्यान्मा, भुटान र थाइल्याण्ड राष्ट्र सम्मिलित बिमस्टेकको अध्यक्ष राष्ट्रको रुपमा सन् २०१४ देखि नेपाल रहेको छ । यस पटकको शिखर सम्मेनको नारा ‘शान्ति, समृद्धि र दिगो बङ्गालको खाडी’ भन्ने रहेको छ । 

 

प्रत्येक दुई÷दुई वर्षमा हुनुपर्ने शिखर सम्मेलन २० वर्षको अवधिमा चार पटक मात्र भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले संविधान निर्माण, तीन तहको निर्वाचन गर्नुपरेका कारण केही ढिलाइ भए पनि अहिले शिखर सम्मेललाई साकार पार्न नेपाल जुटिरहेको बताए । 

 

विभिन्न १४ वटा क्षेत्र समेटिएका बिमस्टेक समूहको पहिलो पहिलो शिखर सम्मेलन सन् १९०७ मा थाइल्याण्डमा भएको थियो । बिम्स्टेकलाई केबल सङ्गठनको रुपमा मात्र नभई क्षेत्रीय विकास र सहयोगका लागि प्रभावकारी सङ्गठनको रुपमा लैजानुपर्छ, भनेर ढाका सम्मेलनपछि व्यापार, सम्पर्क सञ्जाल, जलवायु परिवर्तन, आतङ्कवाद नियन्त्रण र गरीबी निवारणका अतिरिक्त सामुद्रिक र हिमालयन अर्थतन्त्रसम्बन्धी विषयवस्तु समेटेर काम गरिरहेको प्रधानमन्त्री ओलीले बताए । 

केपी शर्मा ओली बिम्स्टेक चौथो शिखर सम्मेलन

विशेष