एशियाडः भलिबलमा नेपालद्वारा मङ्गोलिया पराजित

काठमाडौं । इण्डोनेशियामा जारी १८ औ एशियाली खेलकूद अन्तर्गत मंगलबार भएको पुरुष भलिबल खेलमा नेपालले विजय हासिल गरेको छ ।
इण्डोनेशियाको जकार्तास्थित गोर बुलुनगन रङ्गशालामा भएको खेलमा नेपालले मङ्गोलियालाई ३-१ सेटमा पराजित गर्दै विजयी भएको हो । नेपालको एशियाड भलिबलमा यो पहिलो जित हो ।
यसअघिको समूह चरणको खेलमा नेपाल चाइनिज ताइपेई र दक्षिण कोरियासँग पराजित भएको थियो । नेपालले खेलको पहिलो सेट २८-२६ ले गुमायो । त्यसपछिको खेलमा उत्कृष्ट पुनरागमन गर्दै नेपालले लगातार तीन सेट आफ्नो पक्षमा पार्यो ।
नेपालले दोस्रो सेट २५-१६ ले जित्यो भने तेस्रो सेट ३०-२८ तथा चौथो सेटमा २५-१९ ले आफनो पक्षमा पार्दै प्रतियोगितामा सहज जित हात पार्यो । नेपालले १३ औँ देखि १८औँ वरियताको लागि खेलेको हो ।
यो वरियताका लागि नेपालसँगै मङ्गोलिया, काजकस्तान र किर्गिस्तान रहेका छन् । नेपालले अब श्रीलङ्का र भियतनाममध्ये एक टोलीसँग खेल्नेछ ।
इण्डोनेशिया पुरुष भलिबल