मुख्य समाचार

एक वर्षमा घरेलु तथा साना उद्योगबाट ७७ हजार स्वरोजगार

एक वर्षमा घरेलु तथा साना उद्योगबाट ७७ हजार स्वरोजगार

काठमाडौं । आर्थिक वर्ष २०७४÷७५ लघु, घरेलु तथा साना उद्योगबाट ७७ हजार ९५ जनाले रोजगारी पाएका छन् । यस्तै, साे आर्थिक वर्षमा १९ हजार ३३ उद्योग नवीकरण, एक हजार ३ सय ७८ उद्योग नामसारी, चार हजार १ सय ३४ लघु उद्यम दर्ता, पाँच उद्योग इजाजत दर्ता, ६ सय २९ उद्योग ठाउँसारी भएको छ । विभागले २६ हजार २ सय १६ उद्यमी सिर्जना गरेको छ । 

 

आर्थिक वर्ष २०७४÷७५ सरकारले ग्रामीण समुदायको जीवनस्तर उकास्नका लागि ३६ हजार ३ सय ३ वटा नयाँ लघु, घरेलु तथा साना उद्योग दर्तासमेत गरेको छ । 

 

आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको लघु, घरेलु तथा साना उद्योगको विकासका लागि सरकारले आव २०७४÷७५ मा सो सङ्ख्यामा नयाँ उद्योग दर्ता गरेको हो । 

 

दर्ता भएका नयाँ उद्योगमध्ये घरेलु तथा साना उद्योग विभागमा २२ हजार ६ सय ६६ र लघु, घरेलु तथा साना उद्योग विकास समितिमा १३ हजार ६ सय ३७ उद्योग दर्ता भएका हुन् । 

 

गरीब तथा विपन्न परिवारको उद्योगमार्फत आर्थिक हैसियत बढाउनका लागि स्थापना भएका समिति तथा विभागले डकर्मी, सिकर्मी, प्लम्बिङ, सिलाइबुनाइ एवं कृषिमार्फत रोजगारी सिर्जना गर्दै आएको छ । 

 

७७ जिल्लामध्ये समितिले हिमाल र पहाडका ४९ जिल्ला र विभागले तराईका २८ जिल्लामा आफ्नो कार्यक्षेत्र बनाएर लघु, घरेलु तथा साना उद्योगको विकासमा काम गरिरहेका छन् । चालू आवको साउनदेखि घरेलु तथा साना उद्योग विकास समिति उद्योग विभागमा गाभिएको छ । 

 

विदेशी लगानीका साना र स्वदेशी लगानीका मझौला तथा ठूला उद्योग दर्ता गर्दै आएको उद्योग विभागले आव २०७४÷७५ मा भने ४ सय ९६ उद्योगका लागि तीन खर्ब ५० अर्ब ५८ करोड ८० लाख रुपैयाँ लगानी आएको छ । उक्त उद्योग दर्ता भएसँगै २७ हजार ३ सय ३९ नेपालीले प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा रोजगारी पाउनेछन् । 

घरेलु तथा साना उद्योग स्वरोजगार

विशेष