मुख्य समाचार

धरहरा पुनः निर्माण कार्य अन्योलमा, आठौं पटक आर्थिक प्रस्ताव स्थगित

धरहरा पुनः निर्माण कार्य अन्योलमा, आठौं पटक आर्थिक प्रस्ताव स्थगित

काठमाडौं । धरहरा पुनः निर्माण कार्य अन्योलमा पर्ने देखिएको छ ।  बोलपत्रको आर्थिक प्रस्ताव खोल्न तोकिएको समय आठौँपटक स्थगित भएपछि पुनः निर्माणको कार्य अन्योलमा पर्ने देखिएको हो । 

 

पटकपटक आर्थिक प्रस्ताव रोकिँदा धरहरा पुनः निर्माण कार्य अन्योलमा परेको हो । राष्ट्रिय पुनः निर्माण प्राधिकरणले असार मसान्तमै शिलान्यास गर्ने भने पनि भदौ मध्यसम्म पनि प्रस्ताव खोलिएको छैन । 

 

वैशाख ३१ गते प्राधिकरणले धरहरा निर्माणसम्बन्धी सूचना प्रकाशन गरेको थियो । सूचनामा दिइएको समयमा छवटा प्रस्ताव पेश भएका थिए । प्रस्तावको प्राविधिक मूल्याङ्कन गरी प्राधिकरणले पाँच निर्माण कम्पनी छनोट गरेको थियो । पाँचवटा निर्माण कम्पनीको आर्थिक प्रस्ताव असार २६ गते खोल्ने भनी असार २० गते सूचना प्रकाशन गरिएको थियो । 

 

यसबीच असार २६ गतेदेखि सातपटकसम्म प्रस्ताव खोल्ने काम स्थगित हुँदै आएको छ । आठौ पटक म‌गलबारलाई तोकिएको मिति पनि सूचना प्रकाशित गरेर भदौ १७ गते आइतबारलाई सारिएको प्राधिकरणका सहसचिव एवम् सम्पदा संरक्षण सार्वजनिक भवन तथा पूर्वाधार महाशाखा प्रमुख राजुमान मानन्धरले जानकारी दिए । 

 

प्राविधिक प्रस्ताव पास भएका पाँच कम्पनीमध्ये कुनै एकको कागजात शङ्कास्पद छ भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेपछि प्रस्ताव खुला गर्ने मिति आठौँ पटकसम्म रोकिएको हो । 

 

यससम्बन्धी छानबिन गरी प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेश गरी सकिएको उहाँले बताउनुभयो । प्रधानमन्त्री कार्यालयबाट प्रतिवेदन पेश भएपछि प्रस्ताव खोल्नु भनी पत्र प्राप्त नभएकाले स्थगित गरिँदै आएको प्राधिकरणले जनाएको छ ।

 

भीमसेन थापाका पालामा बनेको ऐतिहासिक सम्पदा धरहरा तीन वर्षअघिको भूकम्पसहित चारपटक ढलिसकेको छ । धरहरा पटकपटक ढलेकाले पुरानो संरचना यथावत् सिसाले छोपेर २२ तलाको नयाँ धरहरा बनाउने प्राधिकरणको तयारी छ ।

धरहरा आर्थिक प्रस्ताव स्थगित

विशेष