मुख्य समाचार

प्रधानमन्त्री ओली र मोदीले धर्मशालाको उद्घाटन गर्ने

प्रधानमन्त्री ओली र मोदीले धर्मशालाको उद्घाटन गर्ने

काठमाडौ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा नेपाल-भारत पशुपति मैत्री धर्मशालाको उद्घाटन गर्ने भएका छन् । दुवै प्रधानमन्त्रीले २०५८ सालमा शिलान्यास भएको उक्त धर्मशालाको उद्घाटन शुक्रबार गर्ने भएका हुन् । 

 

तीनतारे होटलको सुविधा हुने भनिएको उक्त धर्मशाला निर्माणका लागि भारत सरकारले २२ करोड रुपैयाँ सहयोग गरेको कोषका सदस्यसचिव डा. प्रदीप ढकालले बताए । 

 

धर्मशाला निर्माणपछि नेपाल, भारतलगायत तेस्रो मुलुकका धार्मिक पर्यटकलाई पनि ‘टुर प्याकेज’ मा यात्रा गराउन सकिनेछ । तिलगङ्गा आँखा अस्पतालको दक्षिण पश्चिम भागको १० रोपनी क्षेत्रफलमा निर्माण भएको धर्मशालामा तीन चोक, तीन तला र ८२ कोठा छन् । चार कोठा विशिष्ट व्यक्तिका लागि बनाइएको छ । 

 

धर्मशालामा ३९८ श्यया रहेकाले एकैपटक ३९८ तीर्थयात्री बस्न सक्नेछन् । यसले गर्दा नेपालको धार्मिक एवम् आध्यात्मिक पर्यटन प्रवद्र्धन हुने विश्वास गरिएको कोषका सदस्यसचिव ढकालले जानकारी दिए । 

 

धर्मशालाको निर्माणपछि निम्नवर्ग र निम्नमध्यम वर्गका यात्री पनि बस्न सक्ने गरी सहुलियतको व्यवस्था गरिने कोषले जनाएको छ । हाल पशुपति दर्शनमा आउने धार्मिक पर्यटकलाई सहुलियतमा स्तरीय धर्मशालाको व्यवस्था नहुँदा महँगा होटलमा बस्न बाध्य हुने गरेका छन् । 

केपी शर्मा ओली नरेन्द्र मोदी

विशेष