पश्चिम सेतीबारे फेरि द्विपक्षीय वार्ता शुरु
काठमाडौ । पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका विषयमा सहमति खोज्न लगानी बोर्ड र चिनियाँ कम्पनी थ्री गर्जेजको सहायक कम्पनी सीडब्ल्यू इन्भेस्टमेन्टका अधिकारीबीच राजधानीमा वार्ता शुरु भएको छ ।
कूल ७५० मेगावाट क्षमताको सो आयोजना निर्माणका विषयमा समझदारी भएको लामो समय भए पनि प्रक्रिया अगाडि बढ्न नसक्दा अन्योलता बढेको थियो । द्विपक्षीय वार्ताका लागि चिनियाँ अधिकारी सोमबार यहाँ आएका थिए ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले छलफल शुरु भएको बताए । नेपाली अधिकारी र चिनियाँ कम्पनीबीच पटक-पटक छलफल भए पनि सहमति हुन सकेको छैन ।
६ वर्षपहिले अर्थात् सन् २०१२ मा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले सो आयोजना निर्माणका लागि चिनियाँ कम्पनी थ्री गर्जेजसँग समझदारी गरेको थियो । समझदारीअनुसार ७५ प्रतिशत लगानी चिनियाँ कम्पनीको र २५ प्रतिशत लगानी नेपाल विद्युत् प्राधिकरणको रहने व्यवस्था छ ।
बोर्डको आग्रहमा चिनियाँ कम्पनीका अधिकारी राजधानी आएका हुन् । उनीहरुसँग बुधबार पनि द्विपक्षीय छलफल हुनेछ । चिनियाँ कम्पनीले विद्युत् खरीद मूल्य र क्षमताका विषयमा प्रश्न उठाउँदै आएको बुझिएको छ ।
पश्चिम सेती जलविद्युत् आयोजना चिनियाँ कम्पनी थ्री गर्जेज