मुख्य समाचार

स्थानीय करबारे प्रमुख दल गम्भीर, जथाभावी कर रोक्न नेकपाको निर्देशन

स्थानीय करबारे प्रमुख दल गम्भीर, जथाभावी कर रोक्न नेकपाको निर्देशन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जनतालाई भार पर्ने गरी जथाभावी लिइएको कर रोक्न आफ्ना जनप्रतिनिधिहरूलाई निर्देशन दिइसकेको छ । ‘स्थानीय तहले जथाभावी लिएको कर रोक्न निर्देशन दिइसकेका छौँ, आवश्यक परे आगामी दिनमा थप निर्देशन दिन सकिन्छ,’ महासचिव विष्णु पौडेलले भने ।

 

करको विषयमा चाहिएभन्दा धेरै प्रचारबाजी भएको नेकपाको बुझाइ छ । ‘स्थानीय तह आफैँमा सरकार भएकाले आ–आफ्नै तरिकाले कर लिइरहेका छन्,’ पौडेलले भने, ‘यसरी सरकार चलाउँदा जनतालाई अनावश्यक रूपमा लिने करको विषयमा पार्टी र सरकार दुवैको ध्यानाकर्षण भएको छ । जनतालाई अनावश्यक बोझ हुने गरी कर लगाइँदैन, लगाउन पनि दिइनेछैन ।’


जनतालाई मार पर्ने गरी बढाएको कर घटाउन राजपाको निर्देशन
राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रदेश २ मा निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुखलाई जनतालाई मार पर्ने गरी कर नलागउन निर्देशन दिएको छ । पार्टीका तर्फबाट निर्वाचित ५५ प्रमुख र उपप्रमुखलाई सोमबार काठमाडौं बोलाएर राजपाको अध्यक्ष मण्डल तथा केन्द्रीय सचिवालयले अवैज्ञानिक र अव्यावहारिक करबाट मुक्त गराउन निर्देशन दिएको हो ।


संघीय समाजवादी फोरम चुपचाप
संघीय समाजवादी फोरमले भने पार्टीबाट जितेका स्थानीय तहका प्रमुख र उपप्रमुखसँग छलफल गरेको छैन । करवृद्धिको विषयमा नयाँ निर्णय लिनुपर्ने अवस्था आएमा आन्तरिक सर्कुलरबाट अगाडि बढ्ने नेताहरूको भनाइ छ ।

 


राप्रपाले जितेका तहमा कर नबढ्ने
राप्रपाले स्थानीय तहमा कर नबढाउन आफ्नो पार्टीबाट प्रतिनिधित्व गरेका जनप्रतिनिधिलाई निर्देशन दिएको छ । १ भदौमा बसेको कार्यसम्पादन समितिको बैठकले पहिला गाउँ विकास समिति र नगरपालिकाले लिइरहेकोभन्दा बढी कर नलिन निर्देशन दिएको हो । ‘पहिला लिएकोभन्दा बढी कर नलिन पार्टीले जितेका स्थानीय तहलाई निर्देशन दिने निर्णय गरेको छ,’ प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले भने ।

नेपाल कम्युनिस्ट पार्टी

विशेष