मेस्सीले बार्सिलोना नछोडेझैँ रोनाल्डोले पनि रियल छाड्नु हुन्थेन : राफायल
रियल मड्रिडका पूर्व खेलाडी राफायल भान डेरभार्तले क्रिस्टियानो रोनाल्डोले रियल मड्रिड छाड्नु उपयुक्त निर्णय नभएको बताएका छन् ।
लियोनल मेस्सी बार्सिलोनामै बसेजस्तै रोनाल्डो पनि रियलमै बसेको भए राम्रो हुने राफायलको भनाई छ । रोनाल्डो गएको जुलाई महिनामा मात्रै रियलबाट इटालियन क्लब युभेन्टसमा गएका थिए ।
३३ वर्षीय पोर्चुगिज स्टार रोनाल्डो रियल मड्रिडका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन् । उनले रियलका लागि चार सय ५१ गोल गरेका छन् । रोनाल्डोले सन् २००८, २०१३, २०१४, २०१६ तथा २०१७ मा गरी पाँच पल्ट बलोन डी ओर अवार्ड जितेका छन् ।
रोनाल्डोले गएको मे महिनामा मात्रै रियललाई चौथो पल्ट च्याम्पियन्स लिग जिताएका थिए । किभमा भएको खेलमा लिभरपुललाई पन्छाउँदै उपाधि जिते पनि प्रशिक्षक जिनेदिन जिदानले भने क्लबबाट राजीनामा दिएका थिए ।
राफायलले रोनाल्डोको रियल छाड्ने निर्णयले सबैलाई आश्चर्यचकित बनाएको बताए । युक्रेनी अनलाई फुटबल डट यु ए सँग कुरा गर्दै राफायलले भने, ‘तपाईँहरुलाई थाहा छ मेस्सीले कहिल्यै बार्सिलोना छोड्ने छैनन् ।’ उनले रोनाल्डोले रियल छाड्ने निर्णय गरेपछि आफू दुखी भएको पनि बताए ।
राफायल सन् २००८ देखि २०१० सम्म रियल मड्रिडबाट खेलेका थिए । उनले ५८ खेलमा रियलका लागि ११ गोल गरेका थिए । अहिले उनी डेनिश क्लब एसबर्गमा आवद्ध छन् ।
क्रिस्टियानो रोनाल्डो