मुख्य समाचार

७ महिने शिशुको अपहरणपछि हत्या

७ महिने शिशुको अपहरणपछि हत्या

काठमाडाैं ।  महोत्तरीको औरही–१ मा ७ महिने बालिकाको अपहरणपछि हत्या भएको छ । आइतबार साँझ अपहरणमा परेकी स्थानीय सन्तोष चौधरी र इन्द्रेशी चौधरीकी छोरी सोनालीको शव सोमबार भंगहा नगरपालिका–७ मेघनाथ गोरहन्नास्थित आँपको बगैँचामा फेला परेको हो ।

 

घटनास्थल औरहीबाट एक किलोमिटरको दुरीमा पर्छ । अपहरणमा परेको जानकारी पाएपछि उद्योग वाणिज्य संघ औरही शाखाका अध्यक्ष श्रवण चौधरीको नेतृत्वमा स्थानीय व्यापारी सोमबार बिहानैदेखि खोजीमा जुटेका थिए ।

 

औरही बजारस्थित आफ्नै पसलमा आमासँग खेल्दै गरेका वेला एक अपरिचित व्यक्तिले आफूलाई सन्तोषको साथी बताउँदै सोनालीलाई काखमा लिएर एकैछिनमा बेपत्ता भएका थिए । इन्द्रेशीले पसलको कामतिर ध्यान दिएको मौका पारेर उसले बच्ची अपहरण गरेको परिवारको भनाइ छ । औरहीमा सन्तोष र इन्दे्रशीको कस्मेटिक पसल छ । आइतबार सन्तोष पसलमा थिएनन् ।

 

घाँटी थिचेर हत्या गरेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । बलात्कारपछि हत्या गरेको आशंका गरिएको छ । तर, प्रहरीले पोस्टमार्टम रिपोर्ट नआई भन्न नसक्ने बताएको छ । शिशुले लगाएको कपडा शव वरिपरि फालिएको अवस्थामा भेटिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

 

घटनास्थलमा एउटा चस्मा र बिस्कुटको प्याकेटसमेत फेला परेको प्रहरीले जनाएको छ । जलेश्वर अस्पतालमा सोमबार राति बालिकाको शवको पोस्टमार्टम भएको छ । पोस्टमार्टमपछि सोनालीका हजुरबुबाले शव बुझेका छन् । - नयाँ पत्रिकाबाट ।

महोत्तरी

विशेष