निर्मला पन्त प्रकरणः मुख्य आरोपी भनिएका बिष्टलाई स्वास्थ्य जाँचका लागि काठमाडौं ल्याइयो
काठमाडौं । मानसिक अवस्था ठीक नरहेको भनिएका कञ्चनपुरकी बालिका निर्मला पन्तका बलात्कार आरोपी दिलिपसिंह बिष्टलाई काठमाडौं ल्याइएको छ । उनलाई आज स्वास्थ्य जाँचका लागि यहाँ ल्याइएको हो ।
बिष्टको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य चेकजाँच हुने कञ्चनपुरका प्रहरी उपरीक्षक कुबेर कडायतले जानकारी दिए । साउन १० गतेदेखि हराएकी निर्मलाको साउन ११ गते उखुबारीमा शव फेला परेको थियो। पोष्टमार्टम रिपोर्टमामा उनको बलात्कारपछि हत्या भएको खुलेको थियो।
कञ्चनपुर प्रहरीले निर्मलाको बलात्कार र हत्यामा बिष्टको संलग्नता रहेको निष्कर्ष निकाल्दै भदौ ४ गते उनलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो ।
तर निर्मलाका आफन्त र स्थानीय बासिन्दाले बिष्टलाई नक्कली अभियुक्त भन्दै वास्तविक हत्यारा सार्वजनिक गर्न माग राख्दै आन्दोलन चर्काएका थिए । आन्दोलनका क्रममा प्रहरीसँग झडप भएपछि एक बालकको ज्यान गएको थियो भने केही घाइते भएका थिए ।
निर्मला पन्त हत्या प्रकरणमा गम्भीर लापर्वाही गरेको आरोप लागेपछि सरकारले कञ्चनपुरका तत्कालिन प्रहरी उपरीक्षक डिल्लीराज बिष्टलाई निलम्बन गरिसकेको छ ।
अहिले गृहमन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा रहेको अनुसन्धान टोली कञ्चनपुर खटाएको छ। टोलीले नयाँ शिराबाट सुरुदेखि घटनाको अनुसन्धान गरिरहेको छ ।
निर्मला पन्त दिलिपसिंह बिष्ट