खेल मुख्य समाचार

ओमानसँग नेपाल ७ विकेटले पराजित

ओमानसँग नेपाल ७ विकेटले पराजित

काठमाडौं । क्रिकेटको एसिया कप छनोटअन्तर्गत पहिलो खेलमा नेपाल ओमानसँग ७ विकेटले पराजित भएको छ ।

 

मलेसियाको वायुमास ओभलमा बुधबार भएको खेलमा नेपालले दिएको २२२ रनको लक्ष्यमा ओमानले ४८ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो ।

 

ओमानका लागि खावर अलिले ९६ बलमा ८४ रन बनाउँदै अविजित रहे । यस्तै जिसन मक्सुद ४५ रनमा नटआउट भए । यी दुईबीच चौथो विकेटका लागि ७७ रनको साझेदारी भएको थियो ।

 

नेपालका लागि बलिङमा कप्तान पारस खड्काले १ विकेट लिनुबाहेक ओमानका दुई खेलाडी रनआउट भएका थिए । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २२१ रन बनाएको थियो ।

 

नेपालका लागि सागर पुनले सर्वाधिक ८३ रन बनाए त्यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले ४५ र आरिफ शेखले ३६ रन नेपालका लागि जोडे । दसौँ नम्बरमा ब्याटिङ गरेका करण केसीले नटआउट २६ रन जोडे ।

 

बलिङमा ओमानका बिलाल खान, अजय लाचेटा र मोहम्मद नदिमले सम्मान दुई दुई विकेट लिएका थिए ।

 

एसिया कप ओमान नेपाल

विशेष