बिम्सटेकमा भाग लिन भुटानी सरकार प्रमुख आइपुगे काठमाडौं
काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार ल्योन्पो छिरिङ वाङचुक काठमाडौं आइपुगेका छन् ।
उनलाई रक्षामन्त्री ईश्वर पोख्रेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । सो समारोहमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुको पनि सहभागिता थियो । वाङचुकलाई नेपाली सेनाको एक टोलीले सम्मान गारत अर्पण गरेको थियो ।
बिम्स्टेकको चौथो शिखर सम्मेलन यहि बिहीबार र शुक्रबार आयोजना हुँदै छ ।सम्मेलनमा ‘बिम्स्टेक ग्रिड इन्टरकनेक्सन’ स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । काठमाडौंमा सोमबार सम्पन्न बिम्स्टेक मुलुकका वरिष्ठ पदाधिकारीको १९ औं बैठकले ऊर्जाको क्षेत्रमा सदस्य मुलुकबीच सहायता अभिवृद्धि गर्न त्यस्तो समझदारीपत्रमा हस्ताक्षरका लागि शिखर सम्मेलनमा सिफारिस गरेको छ ।
बिम्स्टेक मुलुकका राष्ट्राध्यक्ष र सरकार प्रमुखको आगामी बिहीबार र शुक्रबार काठमाडौंमा हुने शिखर बैठकमा उक्त समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।