मुख्य समाचार

ट्राफिक प्रहरीले जारी गरेकाे सूचना नपढ्दा सर्वसाधारणलार्इ सास्ती (फाेटाे फिचरसहित)

ट्राफिक प्रहरीले जारी गरेकाे सूचना नपढ्दा सर्वसाधारणलार्इ सास्ती (फाेटाे फिचरसहित)

काठमाडौं । राजधानी काठमाडौंमा बिहीबार र शुक्रबार हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनका कारण केही दिनदेखि काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । 

काडमाडौंमा बुधबारदेखि झनै मुख्य सडकमा यात्रा गर्न गाह्रो हुने भएको छ । सम्मेलनमा भाग लिन आउने विशिष्ट पाहुनाको सवारीका कारण शनिबार बिहानसम्मै काठमाडौंका केही रुटमा यात्रा गर्न समस्या हुने देखिएको छ ।

 

ट्राफिक प्रहरीले बुधबार बिहान गन्तव्यतिर जान लागेका बसहरूलाई खाली गराउँदै फर्काउने गरेको छ । जसले गर्दा यात्रुहरू अलमलमा परेका छन् । ट्राफिक प्रहरीले जारी गरेको सूचना नपढ्दा थप समस्या भएको प्रहरीले बताएको छ । 

 

काठमाडौंको खुलामञ्चस्थित बसपार्क मंगलबारदेखि १८ गतेसम्मका लागि बन्द भएको छ । बसपार्क मर्मतका लागि  बन्द गरिएको हो । सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काभ्रेपलान्चोकलगायत विभिन्न स्थानबाट अरनिको राजमार्ग हँुदै काठमाडौं आउने ठुला यात्रुवाहक सवारीसाधनलाई कोटेश्वरबाटै सातदोबाटो, कलंकी हुँदै सीधै नयाँ बसपार्क पठाइएको छ । यता काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानबाट रत्नपार्कतर्फ आउने सवारीसाधनलाई भने रत्नपार्क वरपर यात्रु चढाउने र ओराल्ने व्यवस्था मिलाइएको ट्राफिक महाशाखाले जनाएको छ ।

 

उपत्यकामा बुधबारदेखि बिजोर नम्बर प्लेट भएका निजी तथा सार्वजनिक सवारीसाधन चलिरहेका छन् । जोर बिजोर प्रणाली बिहान ६ देखि राती १० बजेसम्म  लागू हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । गौशाला र मुनिभैरबबाट एअरपोर्टतर्फ जाने चार पाङ्ग्रे सवारीसाधनलाई वैकल्पिक मार्गको प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । यसैगरी  सिंहदरबार माइतीघरबाट कोटेश्वर हुँदै भक्तपुरतर्फ जाने आउने सवारीसाधनलाई माइतीघरबाट थापाथली हुँदै जावलाखेल–सातदोबाटो प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।  त्रिपुरेश्वरबाट कालिमाटीतर्फ जाने सवारीसाधनलाई पनि थापाथलीबाट कोरिडोरको बाटो प्रयोग गर्न आग्रह गरिएको छ ।

 

एअरपोर्ट, कोटेश्वर, थापाथली, त्रिपुरेश्वर, कालिमाटी हुँदै चल्ने सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । विशेष कारणवश उक्त स्थानमा चल्ने सवारीसाधनलाई डाइभर्सन गरिएकाले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको हो । उक्त स्थान हुँदै चल्ने सवारीसाधनलाई रातोपुल, गौरीघाट, चुच्चेपाटी सिनामंगल भत्केकोपुल, मुनिभैरव, कोटेश्वर कलंकी, पुरानोबानेश्वर, हनुमानस्थान, सिंहदरबार, भद्रकाली, नागस्थान, टंकेश्वर, ताहाचल मोड, बाफल चोक, बल्खु चोक, कुपण्डोलबाट डाइभर्सन गरिएको छ ।


 

यस्ताे छ ट्राफिक प्रहरीले जारी गरेकाे सूचना । 

 

 

यहि भाद्र १४ र १५ गते हुन गईरहेको चौथो बिमस्टेक सम्मेलनमा सहभागी हुन आउने विदेशी विशिष्ट अतिथि तथा प्रतिनिधिहरूको आवागमनलाई सुरक्षित,व्यवस्थित र सहज बनाउन भाद्र १३,१४ र १५ गते ३ दिन उपत्यकामा संचालन हुने सम्पुर्ण निजि र भाडाका सवारी साधनहरुलाई जोर बिजोर प्रणाली अनुसार संचालन गरिने भएता पनि निम्न अवस्थाहरुमा जोर बिजोर प्रणाली लागु नहुने व्यहोरा जानकारी गराउदछौँ ।

  • बिमस्टेक कार्यक्रममा जान निमन्त्रणा भएका सवारी साधनहरुलाई

  • गृह तथा परराष्ट्र र बिमस्टेकमा खटिएका कर्मचारीहरुलाई

  • माननिय सभासदज्युहरुको सवारी साधनहरु ( परिचय पत्र हेरेर)

  • अत्यावश्यक सेवा , अति आवश्यक कार्य (बिरामी , विद्यार्थीको परीक्षा , एयरपोर्ट टिकेट भएका) हरुलाई

  • कुटनितिक नियोगका सवारी साधनहरु

  • सुचना विभागबाट प्रेस पास लिएका पत्रकार ज्युहरूलाई

  • बिहान ६ बजे अघि र बेलुकी १० बजे पछि सम्पुर्ण सवारी साधनहरू

यहि भाद्र १४ र १५ गते हुन गईरहेको चौथो बिमस्टेक सम्मेलनमा सहभागी हुन आउने विदेशी विशिष्ट अतिथि तथा प्रतिनिधिहरूको आवागमनलाई सुरक्षित,व्यवस्थित र सहज बनाउने उदेश्यले भदौ १४ र १५ गते उपत्यका भित्रका सम्पूर्ण शिक्षण संस्थाहरु बन्द रहने व्यहोरा जानकारी गराउँदछौं । विस्तृत जानकारीका लागि ट्राफिक महाशाखाको अाधिकारिक  फेसबुक पेज "Metropolitan Traffic Police Division" मा गई हेर्न सक्नु हुनेछ ।

 

 

बिमस्टेक ट्राफिक प्रहरी

विशेष