देखासिकी गर्नेहरुलाई पार्बती राईको सुझावः ‘राम्री देखिन अक्कल चाहिन्छ, महंगो साडी होइन’
काठमाडौं । ‘छमछमी’ नामक टेलिभिजन कार्यक्रमबाट नेपाली रंग क्षेत्रमा चिनिएकी पार्बती राई सफलताका लागि कर्म गर्नुपर्छ भन्नेहरुका लागि एक उदाहरण हुन् । सफलता चाहने तर कडा परिश्रम गर्न नखोज्नेहरुले पार्बतीबारे नजानेकै राम्रो । उनी कडा महेनतले सफलता प्राप्त गर्ने कलाकार हुन । उनी जे गर्छिन् समर्पित भएर गर्छिन् । काम यिनका लागि जागिर होइन, पूजा हो ।
अहिले देश विदेश गरिरहेकी पार्बतीका लागि अबको दिन पनि असहज छैन । हालै उनी अमेरिकामा आफ्नो कला प्रस्तुत गरेर आइन् । अमेरिकाको भिसा पाउन गाह्रो नै हुन्छ । फेक नभएर रियल कलाकार भएर होला मैले पाएको होला भन्ने उनको ठम्याइ छ ।
कलाकार पार्बती राईको मतमा अब नेपालमै पनि कलाकारहरुलाई सर्भाइभ गर्न गाह्रो छैन । पहिले पहिले विदेश जाने उतै बस्ने चलन थियो । अब नेपालमै बसे पनि कलाकारहरु बाच्न सक्ने उनी बताउछिन् । उनले भनिन्, ‘पहिले एउटा म्युजिक भिडियोमा काम गर्न एक महिना कुर्नु पथ्र्यो । अहिले दिनहुँ धेरै वटा म्युजिक भिडियो तयार हुन्छन् ।’
विदेशमा कार्यक्रम लिएर जाने कलाकारहरुले संस्कृति आदान प्रदान गर्छन् । जसका कारण विदेशमा कार्यक्रम लिएर जाँदा त्यसका केही राम्रा पक्षहरु पनि छन् – उनले भनिन् ।
लोक दोहोरीका म्युजिक भिडियोहरुमा पार्बती राईको एक छत्र राज थियो÷छ भन्दा पनि हुन्छ । तर अहिले नयाँ कलाकारहरु पनि स्थापित भइरहेका छन् । नयाँ आउनेहलाई उनी चुनौतीका रुपमा लिदिनन् । यसलाई स्वाभाविक रुपमा लिने गर्छिन् ।
तीजका कैयन म्युजिक भिडियोमा पार्वतीले काम गरेकी छन् । तर यी पार्बतीलाई शिवको खास मतलव छैन । उनले भनिन्, ‘तीजको व्रत भनेको शिवको आरधना हो । पहिले आमासँगै व्रत वस्थे । पछि आफ्नो कामले समस्या पार्यो । अहिले व्रत बस्दिनँ ।’
तीजमा दर खाने विषय अहिले व्यापारिक हुन थालेको पार्बतीको बुझाई छ । उनले भनिन्, ‘पहिले घरमा सिमित थियो दर खाने कुरा । अहिले पार्टी प्यालेस, होटल पुग्यो ।’
चाडपर्वका बेला मानिसहरु देखासिकीमा फस्ने गर्छन् । देखासिकी गर्ने महिलाहरुलाई पार्बतीले सुझाव दिँदै भनिन्, ‘महंगो साडी किन्दैमा राम्रो भइन्न । मिलाएर लगाउन जान्नु पर्छ । सस्ता साडी सबै नराम्रो हुँदैनन् ।’
म्युजिक भिडियोमा बारुले कम्मर मर्काएर अत्यन्त फूर्तिका साथ नाच्ने पार्बती हिजोआज आफै म्युजिक भिडियो निर्देशन पनि गर्न थालेकी छन् । एक से एक निर्देशकहरुसँग काम गरिसकेपछि पार्बतीका लागि निर्देशन गर्न कत्ति पनि गाह्रो भएन । उनले सहायक नायिका भएर पनि फिल्ममा काम गरेकी छन् । उनले भनिन्, ‘नृत्य र अभिनय फरक हो । फरक भए पनि मैले त्यो अवसर पाएँ । केही साथीहरुले मुख्य नायिककाको भूमिकामा पनि गर्नु पर्छ भनेर सुझाव दिनु भएको छ । मलाई ठिक हुने प्रोजेक्ट भयो भने सम्भव हुन सक्छ ।’
‘छमछमी’ नामक टेलिभिजन कार्यक्रमबाट नेपाली रंगक्षेत्रमा प्रवेश गरेकी पार्बतीको नृत्यका बारेमा धेरै चर्चा गरिरहन नै पर्दैन । किनभने उनी नाच्छिन नै त्यसै गरी । पार्बतीको फूर्तिलो नृत्य देखेर कायल नहुने को होला र ?
पार्बतीको अर्को एक विशेषता पनि छ । यिनी काम गर्न भनेपछि कहिले पछि हट्दिनन् । दिनैभरी काम गरिरहँदा पनि यिनलाई दिक्क लाग्दैन । अल्छि लाग्दैन । कामलाई पूजा ठान्ने पार्बती जस्ता नारीहरुका लागि सफलता अनिवार्य हुन्छ । उनले भनिन्, ‘मैले फाइनान्सको पैसा उठाउने काम गरेँ । क्यासिनोमा डान्स पर्फम पनि गरेँ । डान्स टिचर पनि भएँ । ’
पार्बतीले टेलिभिजनको पर्दामा नृत्य गरिरहेको धेरैले देखेका छन् । त्यस्तो देख्दा अरुलाई पनि पार्बती जस्तै हुने चाहना हुन सक्छ । तर उनले जस्तो ‘एटिच्युड’ विकास गर्न गाह्रै हुन्छ ।
सफलताका लागि कर्मशील हुनुपर्छ भन्ने प्रमाण पार्बती स्वयं हुन् ।