खेल मुख्य समाचार

एसियाकप छनोट : नेपालले ओमानलाई दियो २२२ रनको लक्ष्य

एसियाकप छनोट : नेपालले ओमानलाई दियो २२२ रनको लक्ष्य

काठमाडौं । ओमानसँग एसियाकप छनोटको पहिलो खेलिरहेको नेपालले ओमानलाई २२२ रनको विजय लक्ष्य दिएको छ । एसीसीको आयोजनामा मलेसिया क्वालालम्पुरको बायोमास रंगशालामा जारी खेलमा ओमानले टस जितेर नेपाललाई ब्याटिङको निम्ता दिएको थियो । 

 

पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २२१ रन बनायो । नेपालका लागि सागर पुनले सर्वाधिक रन बनाए ।  पुनले ८४ बलमा ६ चौका र २ छक्कासहित ८३ रन बनाए । नेपालको खातामा ज्ञानेन्द्र मल्ले ४५, आरिफ शेखले ३८, करण केसीले २६ रन जोडे । त्यसैगरी दिपेन्द्र ऐरीले ९, पासर खड्काले ८, सोमपाल कामीले ५ र सुवास खकुरेलले ४ रन जोडे ।

 

नेपालका लागि सुरुवाती ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न नसके पनि लामो समयपछि राष्ट्रिय टोलीमा पुनारागमन गरेका सागर पुनले उत्कृष्ट ब्याटिङ गरेपछि नेपाल सम्मानजनक स्कोर बनाउन सफल भयो । सागरलाई अर्का मध्यक्रमका ब्याट्सम्यान आरिफ शेखले राम्रो साथ दिए । सागर र आरिफ मिलेर पाचौं विकेटका लागि ९२ रनको साझेदारी गरे । 

 

सातौ विकेटको रुपमा सोमपाल कामी आउट भएपछि आठौं नम्बरमा ब्याटिङमा आएका करण केसीले विस्फोटक पारी खेले । १० बलमा २६ रन बनाएका उनले २ छक्का र १ चौका हाने । 

 

अन्तिम ओभरमा नेपालले सागर पुन र वसन्त रेग्मीको विकेट गुमाए पनि १७ रन जोड्यो । 

 

६ टोली सम्मिलित प्रतियोगिताको उपाधि विजेता एक टोली सेप्टेम्बरको १५ देखि ३० तारिखसम्म संयुक्त अरब इमिरेट्स (यूएई) मा हुने एसिया कपका लागि छनोट हुनेछ । छनोट भएको सो टोलीले एसिया कपको समूह एमा रहेर भारत र पाकिस्तानको सिनियर राष्ट्रिय टोलीसँग प्रतिस्पर्धा गर्ने अवसर पाउनेछ । 

एसियाकप छनोट

विशेष