मुख्य समाचार

जनतालाई अभावको दुष्चक्रबाट मुक्त गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड

बिम्स्टेक शिखर सम्मेलन

जनतालाई अभावको दुष्चक्रबाट मुक्त गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौ‌ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्गठनलाई दक्षिणपूर्व र दक्षिण एशियालाई जोड्ने सेतु बनाउनुपर्ने बताएका छन् । 

 

चौथो बिम्स्टेक शिखर सम्मेलनको बिहीबार काठमाडौंमा आयोजित विशेष समारोहमा शुभारम्भ गर्दै उाले सदस्य राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखलाई बुद्ध र सगरमाथाको देशमा न्यानो अभिवादनका साथ स्वागत गरे । 

 

सम्भाव्यताले भरिपूर्ण यस क्षेत्रका राष्ट्रमा समृद्ध प्राकृतिक सम्पदा र क्रियाशील जनसङ्ख्याबाट सिर्जना हुने अनगिन्ती अवसर रहेको बताउँदै प्रधानमन्त्री ओलीले यस क्षेत्रका जनतालाई गरीबीको जालो र अभावको दुष्चक्रबाट मुक्त गर्नुपर्ने धारणा राखे । 

 

बिम्स्टेकलाई प्रभावकारी ढङ्गले अघि बढाउन वस्तु तथा सेवाको व्यापारसम्बन्धी सम्झौता चाँडोभन्दा चाँडो निष्कर्षमा पुग्नुपर्ने औँल्याउँदै उनले लगानी र भन्सारसम्बन्धी मामिलामा पारस्परिक सहयोग, द्वन्द्व समाधान तथा व्यापार सहजीकरणमा जोड दिए । 

बहुपक्षवादमा बिस्तारै बढिरहेको अनिश्चितताका बेला विश्वले सामाना गरेका चुनौतीको सामना गर्न वैधानिक प्रक्रिया अवलम्बन गर्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले सबै देश साना हुन् वा ठूला, तिनले आफ्नो उत्तरदायित्व असल नियतका साथ पूरा गर्नुपर्ने बताए । 

 

प्रधानमन्त्री ओलीले बिम्स्टेक क्षेत्रमा भौतिक सम्पर्क र सम्बन्ध विस्तारको सञ्जालबाटै पर्यटनको प्रवद्र्धनसँगै बौद्ध परिपथको अवधारणालाई मूर्तरुप प्रदान गर्न सकिने विचार व्यक्त गरे  । 

 

बिम्स्टेकलाई यसका कामका आधारमा मूल्याङ्कन गरिने बताउँदै उनले भने, ‘सही नीति, संस्था र स्रोतसाधन अनि दृढ राजनीतिक इच्छा शक्तिले मात्र यसको सफलताको सुनिश्चिता कायम गर्न सक्नेछ ।’

केपी शर्मा ओली बिम्स्टेक शिखर सम्मेलन

विशेष