मुख्य समाचार

बिहीबारदेखि बिमस्टेक सम्मेलन शुरु, कस्तो छ तालिका ?

बिहीबारदेखि बिमस्टेक सम्मेलन शुरु, कस्तो छ तालिका ?

काठमाडौं । बिहीबारदेखि शुरु भएको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) चौथो शिखर सम्मेलनमा भाग लिन सबै सदस्य राष्ट्रका प्रमुखहरू काठमाडौं पुगी सकेका छन् ।

 


भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुट च्यान ओचा बिहीबार काठमाडौं पुगेका हुन् । भने श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना र भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक बुधबार र म्यान्मारका राष्ट्रपति विन मिन्ट मंगलबार नै काठमाडौं आइपुगेका थिए ।

 


बिमस्टेक सम्मेलनमा आएका राष्ट्र प्रमुख र सरकार प्रमुखहरूसँग राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा सामूहिक शिष्टाचार भेटवार्ता गरेकी छन् । त्यसपछि राष्ट्रपतिले अतिथिहरूको स्वागतमा आयोजना गरेको दिवाभोज शुरु हुनेछ ।

 

दिउँसो करिब तीन बजे होटल सोल्टीमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भारतराज पौडेलले जानकारी दिए । 

 

बिमस्टेकको अध्यक्षता गरेको देशको प्रधानमन्त्रीको हैसियतमा ओलीले २२ मिनेट सम्बोधन गर्ने कार्यक्रम छ । ओलीको सम्बोधनपछि वर्णानुक्रम अनुसार बंगलादेश, भुटान, भारत, म्यान्मार, श्रीलंका र थाइल्याण्डका राष्ट्रप्रमुख र सरकार प्रमुखहरूले १५(१५ मिनेट मन्तव्य राख्नेछन् ।

 

साँझ करिब छ बजेतिर सम्मेलनको पहिलो दिनको औपचारिक कार्यक्रम सकिने छ । त्यसपछि अतिथिहरू प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको रात्रीभोजमा सहभागी हुनेछन् ।

 

शुक्रबार विहान प्रधानमन्त्री ओलीले सदस्य राष्ट्रका सरकार प्रमुख र राष्ट्र प्रमुखको सम्मानमा ‘रिटि्रट’ आयोजना गरेका छन् । त्यसपछि बिहान साढे एघार बजे बिमस्टेकको दोस्रो दिनको सत्र शुरु हुनेछ ।

 

सम्मेलनमा स्वतन्त्र व्यापार, बिमस्टेक वडापत्र निर्माण, संयुक्त लगानी कोष, भन्सार सहजतासम्बन्धी सम्झौता, मोटरगाडी तथा परिवहन, स्थल तथा जलमार्ग कनेक्टिभिटी जस्ता एजेण्डामा छलफल हुने बताइएको छ ।

 

महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर र काठमाडौं घोषणापत्र जारी गर्दै सम्मेलन समापन हुने परराष्ट्र मन्त्री ज्ञवालीले बताए । पाँचौ शिखर सम्मेलन श्रीलंकाले आयोजना गर्नेछ ।

बिमस्टेक बिमस्टेक सम्मेलन

विशेष