कभर स्टोरी स्तम्भहरू इतिहास र अनुभूति

‘ट्रम्प र किमको सुरक्षा गर्ने गोर्खा फौजले मोदीको नसक्ने ?’ (भिडियोसहित)

‘ट्रम्प र किमको सुरक्षा गर्ने गोर्खा फौजले मोदीको नसक्ने ?’ (भिडियोसहित)

काठमाडौं । नेपाल आजको ‘इतिहास र अनुभूति’ का नियमित भिडियो स्तम्भकार प्रा. डा. सुरेन्द्र केसीले नेपालको आन्तरिक राजनीतिमा भारतको विशेष चासो र दखल रहेको छ भन्ने विश्लेषण गरेका छन् । 


राजधानी काठमाडौंमा जारी बिम्स्टेक सम्मेलन र नेपालको समसामयिक राजनीतिक पक्षको केस्रा केस्राको विश्लेषण गर्दै डा. केसीले भने, ‘भारतले नेपालको आन्तरिक राजनीतिमा किन यस्तोविधि चासो र दखल राखेका हुन त भन्दा विदेशी मुलुकहरूसँग व्यवहार गर्ने जुन हाम्रो कमजोर शैली छ, त्यो शैलीले उत्पन्न गरेको खाली स्पेसमा विदेशी मुलुकहरू आएर बसिदिएका हुन् । हामीले मुलुकलाई आत्मनिर्भर बनाउँदै लैजाने हो र परनिर्भरतालाई कम गर्दै जाने हो भने त हामीले हरेक विन्दुमा मित्रराष्ट्रको नाम काढी राख्नुपर्ने आवश्यकता नै हुँदैन ।’


उनले हाम्रा राजनीतिक दल र नेताहरूले लिएका नीति नै भारतमुखी भएकाले यहाँको शासनसत्ता पनि रिमोट कन्ट्रोलद्वारा सञ्चालित भएको बताए । 


डा. केसीको टिप्पणी छ, ‘नेपालको शासनसत्ता भारतले जसरी रिमोट कन्ट्रोलबाट चलाएको छ त्यस्तै श्रीलंका, बंगलादेशलगायत अन्य मुलुकमा पनि आफ्नो वर्चस्व कायम राख्न बिम्स्टेकको अवधारणा ल्याएका हुन् । सार्कको सम्मेलन हुन नसकेको वर्तमान परिस्थितिमा बिम्स्टेकको कुनै अर्थ नभएको र यसले खाली पाकिस्तानलाई मात्र अलग्याउने प्रयत्न गरेको छ ।’ 
उनको कथन छ, ‘नेपालको नेतृत्ववर्गले भारतसमक्ष भन्न सक्नु प-यो कि बिम्स्टेकको औचित्य के छ ? भनेर तर हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई यो भन्न सक्नु भा छैन कि सार्कको बेफाइदा के ? बिम्स्टेकको फाइदा के ? त्यसकारण सपाट रूपमा हेर्दाखेरी सार्कलाई प्रतिस्थापन गर्न बिम्स्टेक आएको छ ।’ 


उनले एक प्रसंगमा बिम्स्टेक सम्मेलनको तयारीका लागि राजधानीका सडकका खाल्डाखुल्डी टालटुल र पुर्ने एवं रंगरोगन गर्नेजस्ता सरकारको शृंगारिक कार्यलाई गरिब नेपाली जनताले क्रिसमस, इद र दसैँमा एक छाक मीठो खाएजस्तै भएको पनि व्यंग गरे ।  
डा. केसीले नेपालमा सम्मेलन अथवा राष्ट्र वा सरकार प्रमुखको भ्रमणको तयारी खर्चको बहानामा भ्रष्टाचार गर्ने स्रोत भएको आरोप पनि लगाए । उनले थपे, ‘पाहुना आउने बहानामा फोहोर सफा गर्ने र राष्ट्र लुट्ने यो लज्जास्पद कुरा हो । यसमा मलाई खेद लागिरहेको छ ।’


के नेपालका सुरक्षाकर्मी भारतीय प्रधानमन्त्रीको सुरक्षा गर्न सक्षम छैन र ? भनेर भारतीय सुरक्षाकर्मी नेपाल आएका हुन ? भन्ने प्रश्नको जवाफमा डा. केसीले भने, ‘अब छैन भनुँ भने ट्रम्प सिंगापुरबाट फर्केको तीन महिना भा छैन । ट्रम्प र उत्तर कोरियाका राष्ट्रपति किमको सुरक्षामा हाम्रो त्यहाँको गोर्खा ट्र ुप्स लागेको थियो । जब कि त्यो अर्ध सैनिक जस्तो हो । सेना पनि होइन त्यो । सिंगापुर पुलिस टाइपको । त्यो चाहिँ गर्न सक्ने । स्वयं भारतको सीमा रक्षा गर्न सक्ने । ब्रिटिस महारानीको च्वाइस पनि नेपाली रिक्रुट्सलाई नै हुन्छ । संसारका लागि गोर्खाहरू भनेको त चुस्त र अनुशासित भन्ने पुष्टि भैराछ । यही देशमा मात्रै त्यो काम पनि गर्न नसक्ने यिनीहरूको सोचाइले हामीहरूको मानमर्दन मात्र गर्न खोजेको हो कि सैनिक हस्तक्षेपको पूर्वाभ्यास हो ? मैले देख्दाखेरी त यसमा पनि ठूलो दुराशय लुकेको छ किनभने पटक पटक यो भैराछ । अस्ति पनि मोदी जनकपुरमा आउँदा यही कुरा दोहोरियो । अब हामीले भन्यो यो कुरा राम्रो होइन । उनीहरू त्यो घटनाबाट सिक्दैनन् । यिनीहरूको आँखा, दिमाग किन गैँडाको छालाजस्तो भा छ, मैले बुझ्न सकेको छैन । हामी यदि पाहुनालाई सुरक्षा दिन सक्दैनौं भने सम्मेलन नै किन गर्न पर्ने ? बिम्स्टेक नै किन गर्न पर्ने ? सार्क नै किन गर्न पर्ने ? सम्मेलन गर्न हामीसँग पूर्वाधार वा संरचना नै छैन भने गर्न चैँ किन गर्ने हो ? म यो कुरा बुझ्दिनँ । मैले हेर्दाखेरी यो हस्तक्षेपपूर्ण हो र आफ्नो संरचनाको विश्वसनियतालाई स्खलित गराउने कुरा हो । तर सुरक्षा निकायले पनि यसलाई सहज रूपमा लिराख्या छ । किन यहाँको व्युरोक्रेसी पनि नसुनेको जस्तो गरिराख्या छ ? किन यसमा प्रमुख प्रतिपक्ष पनि अगाडि आउँदैन ? नागरिक समाज, मिडिया, बौद्धिक वर्ग पार्टी पार्टीमा विभाजित भएको हुनाले पार्टी कै सरकारले यो गरेको हुनाले जे सरकारले गरेको छ त्यो ठीक छ भनेर आँखा चिम्लेर बसेको कुरा म बुझ्न अप्ठ्यारो मान्दिनँ, के यो मुलुकप्रतिको कर्तव्य हुन्छ यो ?’


उनले बिम्स्टेक सम्मेलनबाट सर्वसाधारणले केही पनि उपलब्धि नपाउने ठोकुवा गर्दै डा. केसीले बिम्स्टेकको बहानामा नेपाल–भारत द्विपक्षीय कुरा हुने हो तर दुई देशबीच पहिलेदेखि बल्झेका असमान कुराहरूले प्रवेश पाउलाजस्तो मलाई लाग्दैन भन्ने विचार व्यक्त गरे ।

र यो पनि, 

सार्कलाई विस्थापित गर्ने खराब नियतले विम्सटेक ल्याइएको हो (भिडियाेसहित)

प्रा. डा. सुरेन्द्र केसी इतिहास र अनुभुति

विशेष