खेल

एसिया कप छनोटः नेपाल युएईसँग ७८ रनले पराजित

लगातार दोस्रो हार

एसिया कप छनोटः नेपाल युएईसँग ७८ रनले पराजित

काठमाडौं । मलेसियामा जारी एसीसी एसिया कप छनोट प्रतियोगितामा नेपाल लगातार दोस्रो खेलमा पनि पराजित भएको छ । बुधबार ओमानसँग ७ विकेटले हारेको नेपाल बिहीबार युएईसँग ७८ रनले पराजित भयो । 

 

बिहीबार बलिङ राम्रो रहे पनि ब्याटिङमा नचम्किदा युएईले प्रस्तुत गरेको २५५ रनको विजयी लक्ष्य नेपालले पूरा गर्न सकेन । नेपालका लागि सुबास खकुरेलको अर्धशतक बाहेक अन्य ब्याट्सम्यानको प्रर्दशन कमजोर रह्यो । नेपालले आज ४८.५ ओभरमा सबै विकेट गुमाउँदै मात्र १७६ रन बनाउन सक्यो । 

 

टिमका लागि कप्तान पारस खड्का १६, ज्ञानेन्द्र मल्ल ४, सागर पुन ३, सुबास खकुरेल ५०, आरिफ शेख ३, करण केसी शून्य, दिपेन्द्र ऐरी ४०, रोहित पौडेल ९, बसन्त रेग्मी १२ र सन्दिप लामिछानेकाे २ रनको योगदान दिए । 

 

सोमपाल कामी २७ रनमा नटआउट रहे । बलिङमा युएईका अहेमद राजाले ४, मोहम्मद नभेदले ३, आमिर हायतले २ विकेट लिदा अश्फाक अहेमदले नेपालको एक विकेट चट्काए । 

 

टस हारेर ब्याटिङको निम्तो पाएको युएइले निर्धारित ओभरमा २५४ रन बनाएको थियो । आजको हारसँगै एसिया कप छनोट प्रतियोगिताको उपाधि जित्ने नेपालको सपना लगभग समाप्त भएको छ । नेपालको तेस्रो खेल शनिबार मलेसियासँग छ । 

 

एसीसी एसिया कप नेपाल भर्सेस युएई

विशेष