मुख्य समाचार

श्रीलङ्काली राष्ट्रपति स्वयम्भूस्थित आनन्दकुटी जाने, सुनको जलप लगाएको मुर्ती उपहार पाउने

श्रीलङ्काली राष्ट्रपति स्वयम्भूस्थित आनन्दकुटी जाने, सुनको जलप लगाएको मुर्ती उपहार पाउने

काठमाडौ । श्रीलङ्काली राष्ट्रपति मैत्रीपाल सिरिसेना स्वयम्भूस्थित आनन्दकुटी विहार जाने भएका छन् । उनी विहारमा रहेको बुद्धको अस्थी धातु दर्शनका लागि आइतबार जाने कार्यक्रम छ । 

 

राष्ट्रपति सिरिसेना स्वयम्भू जाने भएपछि स्वयम्भू क्षेत्रमा खुशीयाली छाएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन आएका राष्ट्रपति सिरिसेना विहारमा आयोजना गरिने विभिन्न धार्मिक कार्यक्रममा सहभागी हुने छन् । 

 

नेपाल बुद्धको जन्मभूमि हो । श्रीलङ्काले बुद्ध धर्मलाई राष्ट्र धर्मका रुपमा सम्मान गर्दैआएको छ । दुई देशबीच धार्मिक तथा सांस्कृतिक सम्बन्ध निकट छ । उक्त विहारले राष्ट्रपति सिरिसेनालाई सुनको मोलम्बा (जलप) लगाएको बुद्धको प्रतिमा उपहार प्रदान गरिने विहारका प्रमुख भिक्षु धर्ममूर्तिले जानकारी दिए । 

 

शाक्यमुनि बुद्धको अन्त्येष्टिका क्रममा प्राप्त भएका अवशेषलाई अस्थी धातु भनिन्छ । बुद्ध धर्मका अनुयायीले पवित्र वस्तुका रुपमा सम्मान गर्ने सो धातु श्रीलङ्काबाट उपहारस्वरुप नेपाल ल्याइएको हो । मुलुकको पुरानो थेरवादी अभ्यास गरिने उक्त बौद्ध विहार २०७२ सालमा गएको भूकम्प तथा त्यसपछिका परकम्पका कारण पूर्ण रुपमा क्षतिग्रस्त भएको थियो । 

 

उक्त विहारको पुनःनिर्माणका लागि श्रीलङ्काली सरकारले २१ करोड सहयोग गरेको थियो । राष्ट्रपति सिरिसेनाले उक्त विहारको सम्पूर्ण संरचनाकाबारेमा जानकारी लिने छन् । 

 

विहारको सो भवनको संरचना पूरा हुन लागेको भए पनि केही पूर्वाधारका साथै श्रीरामलङ्का चैत्य पूरै भत्काएर नयाँ निर्माणका क्रममा छ । पछिल्लो पटक विकास भएका अत्याधुनिक प्रविधिको प्रयोग गरी भूकम्प प्रतिरोधात्मक बनाइएको उक्त विहारमा धार्मिक गतिविधिका लागि हल, पुस्तकालय, भिक्षु बन्नका लागि दिक्षा लिने विशेष कक्षलगायतका संरचना तयार भइसकेको छ । पुनःनिर्माण करीब ९५ प्रतिशत सकिएको छ । 

 

विश्व सम्पदा सूचीमा रहेको विहारले सामाजिक सेवा र धार्मिक गतिविधिका माध्यमबाट मानिसमा नैतिकताको विकास र समाजमा शान्ति कायम गर्न भूमिका निर्वाह गर्दैआएको भिक्षु तपस्सी धम्मले बताए । विसं २०१० वैशाख पूर्णिमामा तत्कालीन राजा त्रिभुवनले आनन्दकुटी विहारमा आयोजित सार्वजनिक बैठकको अध्यक्षता गरेको इतिहास छ । -रासस

राष्ट्रपति मैत्रीपाल सिरिसेना आनन्दकुटी

विशेष