प्रधानमन्त्री ओलीद्वारा मोदीलाई लुम्बिनी भ्रमणको निम्तो, बुद्ध भारतकै भएको मोदीको दाबी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई लुम्बिनी भ्रमणको निम्तो दिएका छन् । शुक्रवार पशुपति क्षेत्रमा भारतीय सहयोगमा निर्माण भएको धर्मशालाको उद्घाटन कार्यक्रममा उनले मोदीलाई लुम्बिनी भ्रमणका लागि नेपाल भ्रमणको निम्तो दिएका हुन् ।
यसैबीच, भारतीय प्रधानमन्त्री मोदीले घुमाउरो तरिकाले बुद्ध भारतकै भएको दाबी गरेका छन् । पशुपतिनाथ क्षेत्रमा निर्माण भएको धर्मशालाको उद्घाटन गर्दै मोदीले बुद्ध भारतकै भएको दाबी गरेका हुन् ।
प्रधानमन्त्री मोदीले हिन्दीमा भाषामा भने,‘लुम्बिनीले दुनियाँको गौतम दिए, भारतके बोधगयाले बुद्ध दिए ।’ मोदीले गौतम बुद्धले देखाएको बाटोमा आज अतिवाद र आतंकवाद जस्तो समस्या कम गर्न प्रेरणा मिलेको बताए ।
सो क्रममा मोदीले काठमाडौं हिन्दू र बौद्ध धर्मको संगमस्थल भएको बताएका छन् ।
पशुपतिनाथ परिसरमा भारतीय सहयोगमा निर्मित धर्मशाला उद्घाटन तथा हस्तान्तरण गर्दै मोदीले भारतीय नागरिकको तर्फबाट सानो भेटी चढाउन पाउँदा खुसी लागेको बताएका हुन् । चार वर्षअघि साउने सोमबार पशुपतिनाथको दर्शन गर्ने अवसर पाएको स्मरण गर्दै उनले अहिले फेरि आउँदा भक्ति भावले गदगद भएको बताए ।
काठमाडौं हिन्दु र बौद्ध आस्थाको संगमस्थल भएको र यो धर्म मान्नेहरुबीच कस्तो मेलमिलाप छ भन्ने यहाँका गल्लीमा हिँड्ने जो कोहीलाई अनुभूति हुने बताए ।
यो परम्परा नेपाल र भारत सम्बन्धको एक महत्वपूर्ण कडी भएको भन्दै उनले भने, ‘लुम्बिनीले गौतम दियो, भारतले बोधगयाले बुद्ध दियो । गौतम बुद्धले देखाएको बाटो अतिवाद र आतंकवाद जस्तो समस्या हल गर्ने प्रेरणा स्रोत बनेको छ ।’
भारतीय प्रधानमन्त्री मोदीले राजनीतिक स्थिरतापछि नेपाल विकास पथमा अघि बढेको भन्दै यसमा एक विश्वास मित्रका रुपमा भारतले सहयोग गर्ने बताए ।
बिमस्टेक चौथो शिखर सम्मेलन सफलतापूर्वक आयोजना गरेको भन्दै उनले नेपाली समकक्षी केपी शर्मा ओलीलाई बधाइ दिए । उनले अघि भने, ‘मलाई विश्वास छ, ओलीजीको नेतृत्वमा काठमाडौंको धर्तीबाट लिइएको संकल्पले यो पूरा क्षेत्रमा सुख र शान्तिका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।’
प्रधानमन्त्री ओली नरेन्द्र मोदी