ओडिआई सिरिज दोस्रो खेलमा नेदरल्याण्ड्समाथि नेपालको १ रनको रोमाञ्चक जित
काठमाडौं । नेपालले वान डे इन्टरनेशनल क्रिकेट (ओडिआई) मा पहिलो जित हात पारेको छ।
ऐतिहसिक ओडिआई सिरिजको दोस्रो खेलमा नेदरल्याण्ड्सलाई १ रनले पराजित गर्दै नेपालले ऐतिहासिक जित हासिल गरेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाएर २१६ रन बनाएको थियो। २१७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सलाई ५० ओभरमा २१५ रनमा अलआउट गर्दै नेपालले जित हात पारेको हो।
जितपछि नेपालले दुई खेलको सिरिज १-१ को बराबरी गर्दै ओडिआई यात्रामा समेत सुखद सुरुवात गरेको छ।
डच टोलीलाई अलआउट गर्ने क्रममा सन्दीप लामिछानेले ३ विकेट लिए। ललित भण्डारीले २ विकेट लिए। सोमपाल कामी, पारस खड्का, बसन्त रेग्मी र दीपेन्द्र ऐरीले १-१ विकेट लिए।
नेदरल्याण्ड्सका लागि वेस्ली बारेसीले सर्वाधिक ७१ रन बनाएपनि जितका लागि पर्याप्त भए। डानिएल तर ब्राकले ३९ रन बनाए।
कप्तान पारस खड्का र सोमपाल कामीको अर्ध शतकको मद्दतमा नेपालले पहिले ब्याटिङ गर्दै ४८.५ ओभरमा सबै विकेट गुमाएर २ सय १६ रन बनाएको थियो।
नेपालका लागि सोमपाल कामीले सर्वाधिक ६१ रन बनाए। ४६ बल खेलेका सोमपालले ५ चौका र ३ छक्का प्रहार गरे। यस्तै कप्तान पारस खड्काले ६९ बल खेल्दै ६ चौका र २ छक्काको मद्दतले ५१ रन बनाए।
पारस र सोमपालको ओडिआईमा यो पहिलो अर्धशतक हो भने नेपालका लागि अर्धशतक प्रहार गर्ने पारस दोस्रा तथा सोमपाल तेस्रा खेलाडी बने।
यसअघि नेपालको पहिलो ओडिआईमा उपकप्तान ज्ञानेन्द्र मल्लले ५१ रन बनाएका थिए।नेपालका लागि सुवास खकुरेल र दीपेन्द्र सिंह ऐरीले १९-१९ रन बनाए भने आरिफ शेखले १६ तथा ज्ञानेन्द्र मल्ले १३ रन जोडे।
८८ रन हुँदा ५ विकेट गुमाएको नेपालका लागि कप्तान पारस र बरिफले छैटौं विकेटका लागि ४७ रनको साझेदारी गरेका थिए। यस्तै सोमपाल कामीले सन्दीप लामिछानेसँग नवौं विकेटका लागि ४१ रनको साझेदारी गरे।
नेदरल्याण्ड्सका लागि फ्रेड क्लासेनले ३ तथा पिटर सिलर र माइकल रिप्पोनले २-२ विकेट लिए।
नेपाल ओडिआई सिरिज