अपराध सुरक्षा देश

ठगीको सजिलो धन्दा ‘चेक’

ठगीको सजिलो धन्दा ‘चेक’

काठमाडौं ।

घटना एक

सुनसरी गढी गाउँपालिकाका प्रवीण कार्कीबाट भक्तपुरका रोशन लिम्बूले २१ लाख रुपैयाँमा जग्गापास गरे। लिम्बूले पैसाको सट्टा चेक दिए। कार्की चेक लिएर एनआईसी एसिया बैंकमा साट्न पुगे। तर, लिम्बूको खातामा पैसा थिएन। विश्वासमा मालपोत कार्यालयमा गएर जग्गापास गरेका कार्की ठगिए।


घटना दुई

सिन्धुलीकी सरिता लिम्बू उपचारका क्रममा अस्पतालमै रहेका बेला उनले सिन्धुलीकै भुवन श्रेष्ठलाई लेनदेन मिलाउन भन्दै चेक दिएकी थिइन्। खाली चेकमा हस्ताक्षर गरेर श्रेष्ठले चेक लिए।

 

बेलाबेलामा उपचारका लागि लिम्बूलाई अस्पतालमा ल्याउने–पुर्‍याउने काम गर्दै आएका श्रेष्ठले खाली चेकमा २० लाख रुपैयाँ रकम भरेर साट्न बैंक पुगे। लिम्बूलाई थाहै नदिई श्रेष्ठले प्रहरीमा उजुरी दिए। तब मात्रै लिम्बूले आफू ठगिएको अभास गरिन्।

 


घटना तीन

डीएन पाठक नामका व्यक्तिसँग डेढ सय वटा गाडी खरिद गर्ने नाममा नवीन रेग्मीले सम्झौता गरे। सुरुको लटमा २० वटा गाडी रेग्मीले लगे। तीन करोड ४५ लाख रुपैयाँको लेनदेनमा रेग्मीले पाठकलाई चेक दिए। बैंक खातामा भने पैसा थिएन। तब मात्रै पाठकले आफू ठगिएको महसुस गरे।

 

यी तीन घटनाले सर्वसाधारण कति सजिलै ठगिन्छन् भन्ने दृश्य देखाएको छ।

 

काठमाडौं प्रहरीका अनुसार अहिले ठगीको सजिलो माध्यम चेक बनेको छ। ठगले लेनदेन मिलाउन चेक दिन्छन्। बैंकमा पुगेर साट्न खोज्दा खातामा रकम नभएपछि चेक बाउन्स (बैंकमा खातावालाको ब्यालेन्स नहुनु) हुन्छ। काठमाडौं प्रहरीमा एक वर्षको अवधिमा मात्रै चेक बाउन्सका एक हजार ६ सय ६० वटा चेक बाउन्सका उजुरी दर्ता भएका थिए, जसमध्ये चार सय २१ वटामा मात्रै मुद्दा चलेको थियो। सबैभन्दा बढी पाँच करोड रुपैयाँ ठगीको चेक बाउन्स उजुरी प्रहरीमा परेको थियो।

 

पछिल्लो समयमा वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर चेक बाउन्समा ठगी गर्ने धन्दा बढ्दो छ। वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर नपठाउने र पछि चेकमा पैसाको कारोबार गरेपछि चेक बाउन्स भएर ठगी हुने पीडितको संख्या ८० प्रतिशत रहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए।

 

ठगी गर्ने मनसायले जानीजानी नै बैंकमा पैसा ब्यालेन्स नभएको चेक काटेर पीडक उम्कने क्रम बढेको उनको भनाइ छ। चेक बाउन्सको धन्दा खासगरी मिटर ब्याजी, जग्गा दलाली, ढुकुटी खेलाउने र म्यानपावर कन्सल्टेन्सी नै बढी संलग्न रहेको काठमाडौं प्रहरीको अनुसन्धानले देखाएको छ।

 

‘कतिपय लेनदेनको केसमा पहिला चेक लिने र पछि बाउन्स भएपछि प्रहरीमा उजुरी गर्ने नाममा पैसा असुलेर पहिला दिएको चेक फिर्ता नगरी प्रहरीमा उजुरी दिने धन्दासमेत मौलाएको छ’, पोखरेलले भने।


कानुन संशोधन जरुरी

बैंकिङ कसुर महलअन्तर्गत चेक बाउन्स मुद्दामा बैंकमा आफ्नो खातामा पैसा छैन भनेर जानीजानी चेक काट्नुहुँदैन। काटेमा तीन महिना कैद, चेकमा उल्लिखित रकम पीडितलाई भराउने र उल्लिखित रकमबराबर जरिवाना हुन सक्ने व्यवस्था छ।

 

सजायँ कम भएकाले ठगी गर्ने व्यक्तिले पीडितलाई दुःख दिने नियतले जानीजानी बाउन्स हुने चेक काट्दै आएको काठमाडौं प्रहरीको मुद्दा शाखाका प्रमुख डीएसपी मोहन थापाले जानकारी दिए। यसले पीडितभन्दा पनि पीडकलाई धेरै फाइदा हुने गरेको छ। ठगेर बेपत्ता हुने र फेला परेका बखत प्रहरीले पक्राउ गरेपछि मात्रै पीडितलाई क्षतिपूर्ति भराउने काम हुन्छ।

 

कानुन संशोधन भएमा यस्ता प्रकारका ठगी धन्दा निष्क्रिय हुने थापाले बताए। सजायँको व्यवस्था बढाउनुपर्ने समय आएको उनको भनाइ छ। चेक बाउन्सका उजुरी प्रहरीको क्षेत्राधिकारमा परेपछि मात्रै पीडितले थोरै भए पनि न्याय पाएको थापाको दाबी छ। - अन्नपूर्णपाेष्ट दैनिकबाट । 

सुनसरी सिन्धुली

विशेष