मुख्य समाचार

ममाथि नियतवश खुँडा चलाइयोः जोशी

ममाथि नियतवश खुँडा चलाइयोः जोशी

काठमाडौं । संसदीय सुनुवाइ समितिले इतिहासमै पहिलोपटक प्रस्तावित प्रधानन्यायाधीश अस्वीकृत गरेपछि कामु प्रधानन्यायाधीश दीपकराज जोशीले आफ्ना शैक्षिक प्रमाणपत्र नक्कली भएको प्रमाण देखाउन चुनौती दिएका छन् ।

 

‘मेरा प्रमाणपत्रका विषयमा आधिकारिक निकायबाट अनुसन्धान नगरी हचुवाको भरमा चर्चा–परिचर्चा गरियो,’ जोशीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘आधिकारिक निकायको अध्ययनविना नै मेरा प्रमाणपत्रका विषयमा सम्मानित संसदीय सुनुवाइ विशेष समितिले धारणा बनाउँदा मलाई असाध्यै अन्याय भएको छ ।’

 

आफूले प्रवेशिका परीक्षा दिँदा दुईवटा छुट्टाछुट्टै बोर्ड रहेको तथ्यलाई नजरअन्दाज गरिएको उनको गुनासो छ । शनिबार विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘यसलाई मैले स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप गरी न्यायालयलाई बिस्तारै कमजोर बनाई आफ्नो अभीष्ट पूरा गर्ने तत्वहरू सक्रिय भएको चरम अवस्थाका रूपमा समेत बुझेको छु ।’

 

उनले पुनरावेदन अदालतमा २२ वर्ष र सर्वोच्चमा ४ वर्ष काम गर्दा कहिल्यै प्रमाणपत्रमा प्रश्न नउठेको, तर अहिले नियतवश आफूमाथि खुँडा चलाइएको बताएका छन् । उनले सुनुवाइ समितिले समेत उचित अनुसन्धानविना निर्णय गर्नु आश्चर्यजनक भएको बताए । – नयाँ पत्रिकाबाट
 

दीपकराज जोशी

विशेष