नेकपा एकता कांग्रेसलाई अपच : प्रचण्ड
कलैया । नेकपाका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ ले वर्तमान सरकारलाई असफल पार्ने र एकता भाँड्नका लागि देशीविदेशी शक्ति लागिपरेको आरोप लगाएका छन् ।
बाराजिल्लाको विश्रामपुर गाउँसभाद्वारा पारित ऐन कानुनहरूको संगालोको आइतबार सार्वजनिकीकरण कार्यक्रममा अध्यक्ष दाहालले तत्कालीन माओवादी केन्द्र र एमाले मिलेर बनेको नेकपाको एकता नेपाली कांग्रेसलाई अपच भएको बताए ।
विश्रामपुर गाउँपालिकालाई एक नमुना गाउँपालिकाका रूपमा विकास गर्नका लागि आफूले सहयोग गर्ने प्रतिबद्धता पूर्वप्रधानमन्त्री दाहालले व्यतm गरे । एक अर्को प्रसंगमा उनले निजगढमा निर्माण हुने अन्तर्राष्ट्रिय विमानस्थलको काम पनि चाँडै सुरुआत हुने जानकारी दिए ।
गाउँपालिकाका अध्यक्ष अमिरीलाल पालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अच्युत मैनाली, प्रदेश सदस्य ज्वालाकुमारी साह, महमद समिर र सुन्दर विश्वकर्मा, भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाललगायतले आआफ्नो विचार व्यक्त गरेका थिए ।
यसैबीच अध्यक्ष दाहालले कलैया उपमहानगरपालिका वडा नं २३ अन्तर्गतको मोतीसर चोकदेखि बैराठपुर, भतौडा, गंगापुर हुँदै श्री ३ चन्द्र माविसम्मको बाटालाई कालोपत्रे गर्नका लागि शिलान्यास गरेका छन् । सहरी विकास मन्त्रालयको सहयोगमा सो सडक कालोपत्रे हुनेछ । सडकको नाम प्रचण्डपथ रहनेछ । करिब ९ किलोमिटरको सो सडक निर्माणका लागि ४८ करोड ९३ लाख ३८ हजार लाग्ने भएको छ । सडकको चौडाइ नाला दुवैतिर छाडी ३० फिट रहने जनाइएको छ ।