कृष्णको जीवनमा ‘पर्ख पर्ख मायालु’ गीतले काँचुली फेर्यो (भिडियाेसहित)
काठमाडौं । झन्डै दुई सयभन्दा बढी गीतहरूमा आवाज दिइसकेका गायक कृष्ण काफ्ले पछिल्लो समयमा निकै चर्चामा छन् । पछिल्लो समय नेपाली चलचित्र छक्का पञ्जाबाट ‘देखन चम्पा’ गीतसँगै चर्चामा आएका उनी पछिल्लो समयमा निकै व्यस्त गायक मानिन्छ ।
नेपाल आजका लागि रिमा बुढा मगरले उनको गायन क्षेत्रको पछिल्लो अवस्थितिका सम्बन्धमा गरेको कुराकानीका क्रममा गायक काफ्लेले भने, ‘सबैको माया, साथ र हौसला पाएपछि मैले केही गर्नुपर्छ भनेर संघर्षको बाटो हिँड्न थाले बिस्तारै गीत संगीतलाई सिक्दै र बुझ्दै आएँ । जसले गर्दा मैले अहिले राम्रै सफलता पाएको छु ।’
यसका साथै काफ्लेले ‘तिम्रो पिक्चर हिट ,पर्ख पर्ख मायालु’ जस्ता निकै चर्चामा आएका गीतहरू गाइसकेका छन् । उनका गीतहरू बच्चादेखि बुढापाकाहरूले पनि गुनगुनाउने गर्छन् । यसमध्ये पर्ख पर्ख मायालुले युट्युबमा दुई करोडभन्दा बढी दर्शक पाइसकेको काफ्लेले जनाकारी दिए ।
सानै उमेरदेखि नै एउटा सफल गायक बन्ने सपना बोकेका उनी गीत संगीतप्रति निकै रुचि राख्ने गर्थे । उनले आफ्नो जीवनलाई पनि संगीतमय बनाउन ०६५ सालदेखि आफ्नो सांगीतिक यात्रा सुरु गरेका थिए ।
पढाइलेखाइमा त्यति जोश–जाँगर नदेखाउने काफ्ले गीत संगीतमा भने अति नै रुचि देखाउँछन् । काफ्ले नेपाली, हिन्दी र भोजपुरीजस्ता गीतहरू निकै बढी गुनगुनाउने गर्छन् ।
गीत, संगीतकै क्षेत्रमा केही गर्छु भन्ने अठोट लिएर उनी काठमाडौं प्रवेश गरेका थिए । सुरुवाती चरणमा धेरै संघर्ष गरेका उनले सांगीतिक क्षेत्रमा आफ्नो सम्पर्कमा अग्रज व्यक्तिहरू कोही पनि नभएका कारण आफूले सांगीतिक क्षेत्रमा धेरै संघर्ष गर्नुपरेको बताए ।
काफ्ले भन्छन्, ‘स्कुल पढ्दा निकै गीतहरू गाउँथे । साथीभाइहरू र शिक्षकहरूले पनि उनलाई गीत संगीतको क्षेत्रमा केही गर्ने निकै हौसला दिने गर्थे । यसै त उनको परिवारको कुनै सपोर्ट थिएन । त्यसमा पनि यो क्षेत्रमा निकै प्रतिस्पर्धा भएकोले उनले यो क्षेत्रमा निकै साधना गरेका थिए ।
उनको भनाइ छ, ‘पहिले स्टुडियोमा मात्र छिर्न पाए हुन्थ्यो । आफ्नो आवाजमा एउटा मात्र गीत रेकर्ड गर्न पाए पनि गायक भइन्थ्यो जस्तो लाग्थ्यो । तर अहिले गाडीहरूमा, रेडियो, टेलिभिजनलगायत पार्टीहरू, कार्यक्रमहरू जहाँ गए पनि मेरै गीत बजेको सुन्दा र पत्रपत्रिकामा आफूलाई देख्दा एकदमै खुसी लाग्छ ।’
उनी भन्छन्, ‘पहिले कसैले पनि चिन्नु हुन्थेन । तर अहिले साथीहरू र फलोर्सहरू धेरै हुनुहुन्छ । मेरा लागि जे पनि गर्न सक्ने, आई लभ यु भन्ने, मेरा लागि मरिहत्ते गर्ने फ्यानहरू पनि धेरै हुनुहुन्छ ।’
गायक कृष्ण काफ्ले