पति र छोरा गुमाएपछि एक्ली भएकी आमालाई छाड्ने नुरप्रसादले राज्यलाई सराप्न मिल्छ ?
काठमाडौं । छोरा कृष्णप्रसाद अधिकारीको हत्या भएपछि गोर्खा फुजेलका नन्दप्रसाद–गंगामायाको आन्दोलनले अन्तर्राष्ट्रिय चर्चा पायो । अनसनकै क्रममा नन्दप्रसादले प्राण त्यागे, शव शिक्षण अस्पतालमा अझै छ । उनकी पत्नी गंगामायाले यतिका वर्ष अनसन बसेपछि अहिले सरकारले गोर्खाका छविलाल पौडेललाई पक्राउ गरेर न्यायको प्रक्रिया सुरु गरेको छ । छविलाल पौडेलको पक्राउसँगै गंगामायाको अनसन पनि पूरा भएको छ ।
गंगामाया यति अभागी आमा भइन्, जसले एक छोरा अपराधिहरुका कारण गुमाइन्, अर्का छोरा (नुरप्रसाद)ले उनलाई छाडेर बेपत्ता भए । पतिको त अनसनकै क्रममा निधन भएको सबैलाई थाहा नै छ ।
गंगामायाप्रति राज्यले वेवास्ता गरेको आम बुझाइ छ । तर यो सत्य होइन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष सुवोधराज प्याकुरेल भन्छन्, ‘गंगामायाको जीवनभरका लागि सरकारले १ करोडको कोष खडा गरिदिएको छ । त्यसको ब्याज उनको खातामा मासिक जम्मा हुन्छ । तत्कालका लागि बस्ने बन्दोबस्त मिलाउनका लागि बेग्लै २० लाख रुपैयाँ पनि दिएको छ ।’
एक करोडको ब्याज एक प्रतिशत मात्रै हुँदा पनि उनले १ लाख रुपैयाँ हरेक महिना पाउँछिन् । एउटा सुविधा जनक फ्लाट लिएर सम्पूर्ण भौतिक सुविधासहितको बसोबास गर्न पुग्ने २० लाख पनि सरकारले दिएको छ । गंगामायाले चाहने र जान्ने हो भने उनलाई सरकारले दिएको स्रोतले एक सहयोगी, एउटा सानो मोटर किन्न र एक फ्लाटमा बस्न सक्छिन् ।
‘द्वन्द्वका क्रममा हजारौंले ज्यान गुमाए । तर द्वन्द्वपीडितका नाममा गंगामाया जति सुविधा राज्यबाट सायदै अरुले पाएका होलान्’ अध्यक्ष प्याकुरेल भन्छन् ।
भाइ कृष्णप्रसादको हत्याको विरोध र न्यायकालागि आवाज उठाउनेमा उनका दाजु नुरप्रसाद अधिकारी पनि थिए । नुरप्रसाद अहिले चर्चामा आएका व्यक्ति हुन् । जसलाई हालै प्रहरीले समातेर उनकी आमा भए ठाउँ उपस्थित गराइदियो । गंगामायाले बेपत्ता छोरो नुरप्रसादको खोजी दिनु पर्ने माग पनि सरकारसमक्ष राखेकी थिइन् ।
नुरप्रसादलाई राज्यले बेपत्ता पारेको थिएन, होइन । अनसनकै क्रममा बाबुको निधन हुनु, भाई धेरै अगाडि नै मारिए पछि अधिकारी परिवारमा आमा गंगामाया र छोरा नुरप्रसाद मात्रै बाँकी थिए । तर यी त्यस्ता गैरजिम्मेवार छोरा हुन् जसले एक्ली आमालाई शिक्षण अस्पतालमा छाडेर चारवर्षदेखि बेपरवाह हिँडे ।
सहाराको नाममा आफूबाहेक कोही नभएकी आमालाई समेत छाडेर हिँड्न सक्ने नुरप्रसाद अहिले भनिरहेका छन्, ‘यो राज्य प्रति विश्वास छैन । अदालतप्रति विश्वास छैन । यहा कोही पनि उत्तरदायी छैनन् ।’
आफ्नी एक्ली आमाको समेत जिम्मेवारी नलिने नुरप्रसादले अहिले राज्य, अदालतप्रति विश्वास छैन भनिरहेका छन् । उनले अदालतमा बयान पनि दिन्न भनिरहेका छन् । इन्सेक अध्यक्ष प्याकुरेल भन्छन्, ‘विश्वास छैन भने अदालतमा गएर यहि कुरा भनिदिनुहोस् न भनेका छौं । उनका भाई कृष्णप्रसादका हत्याराको किटानी जाहेरी दिनेमा उनको नाम पनि छ । यसकारण उनी अदालत जान आवश्यक हुन्छ । तर जान्न भनिरहेका छन् ।’
गंगामाया र नन्दप्रसादको अनसनबारे त धेरैलाई थाहा छ । तर यो अनसनको पृष्ठभूमि धेरैलाई थाहा नहुन सक्छ ।
नेपालका मानवअधिकारवादीहरुले १८ वर्षका कृष्णप्रसाद अधिकारी गोर्खाबाट हजुरबुबा हजुरआमा भेट्न ६१ सालमा चितवन जाँदा त्यही मारिए । अधिकारी परिवारको राजनीतिसँग गोरु बेचेको साइनो पनि थिएन । फुजेलका वासीन्दाबीच वैमनश्यता थियो । गाउँका डन जस्ता पात्र थिए छविलाल पौडेल । उनकै निर्देशनमा रुद्र आचार्यले गोली हानेर मारेको दाबी गरिन्छ । यो विषय प्रहरीको अध्ययन रिपोर्टमा पनि छ । रुद्र अहिले दुबई–लन्डन हुँदै आयरल्याण्डमा बसेका छन् । उनीविरुद्ध रेडकर्नर नोटिस छ ।
कृष्णप्रसादको हत्या भएपछि अधिकारी परिवार र छविलाल परस्पर विरोधीका रुपमा स्थापित भए । इन्सेक अध्यक्ष प्याकुरेलको मतमा छविलालको आतंकले फुजेल काँपेको थियो । ६१ सालमै पनि छविलालको उमेर ६० कटिसकेको थियो । वृद्धावस्था सुरु गरेका व्यक्तिले ‘गब्बरसिंह’ शैलीमा गाउँमा आतंक मच्चाउन सक्छन् ? अध्यक्ष प्याकुरेल भन्छन्, ‘उमेर बढी हुने बित्तिकै मान्छे असल हुन्छ भन्ने हुँदैन । त्यस्तो हुन्थ्यो भने हाम्रा नेताहरु असल हुनु पर्ने नी । को छ ६० नकटेको ?’
छविलालको आतंकले अधिकारी परिवार गोठ, खोरमा रहेका २२ माउ गाइवस्तु दाम्लोमै छाडेर हिँडे ।
नेपाली समाजमा गाई मार्नु जत्तिको ठूलो अपराध के होला ? त्यो पाप नन्दप्रसाद–गंगामायाले गरे । त्यसको भागीदार फुजेलवासी पनि भए । उनीहरुका गाइ, वस्तु, बाख्रा भैसी गरेर २२ वटा चौपाया दाम्लोमै मरे । कसैले गएर दाम्लो खोलिदिएन । यदि पाप र पुण्यमा विश्वास गर्ने हो भने कृष्णप्रसादको हत्या भन्दा ठूलो पाप गरेर नन्दप्रसाद, गंगामायाले फुजेल छाडेका थिए । त्यो पापमा अरु फुजेलबासी पनि सामेल भए । किनभने ति सबैले गाइवस्तु कराएको सुनेर बसे । घाँस पराल हालिदिन कोही गएनन् । गाइवस्तुलाई पानी दिन कोही गएनन् ।
भन्नकालागि फुजेलमा छविलालको आतंक थियो भन्ने गरिन्छ । तर त्यसरी गाईवस्तु भोकले कराईरहँदा पनि निर्दयी भएर बाँच्नु पर्ने हदसम्मको आतंक छविलालको थियो होला त ? शंका गर्नु पर्ने अवस्था छ । तर इन्सेक अध्यक्ष प्याकुरेल भन्छन्, ‘विश्वास गर्नूस् । छविलालको आतंक थियो ।’
छविलाल पौडेलले केही समय अगाडि आत्मसमर्पण गरे । उनी पुर्पक्षका लागि थुनामा छन् । उनको उमेर अहिले ७८ वर्षको छ ।
‘पाप धुरीबाट कराउँछ’ भन्ने पत्याउने हो भने छविलालको जीवनमा एक त्यस्तै घटना भयो । उनको घरमा स्वस्थानीको सांगे थियो । सांगेको दिन यज्ञको आगोले छविलालकी पत्नीलाई भेट्यो । उपचारकालागि काठमाडौंको ग्रयान्डी अस्पताल ल्याइयो । त्यही उनले प्राण त्याग गरिन् । जसरी कृष्णप्रसाद, नन्दप्रसादको निधनपछि गंगामाया एक्ली भइन्, छविलाल पनि पत्नी वियोगमा परे ।
कृष्णप्रसाद अधिकारी हत्यामा अधिकारी परिवारलाई न्याय दिने मामिलामा अब रुद्र आचार्य मात्रै पक्राउ हुन बाँकी छन् । राज्यले बाँकी दायित्व पूरा गरिसकेको छ, भलै यो प्रक्रिया ढिलो भएको चाहिँ हो ।