मुख्य समाचार

काठमाडौंमा महामारीको खतरा

काठमाडौंमा महामारीको खतरा

काठमाडौं । काठमाडौंको फोहोर व्यवस्थापन कठिन बन्दै जाँदा महामारीको खतरा बढ्ने देखिएको छ।


फोहोरको कारण पानीजन्य रोग देखा पर्न थालेको छ । सबैभन्दा धेरै फोहोर व्यवस्थापन गर्ने निकाय काठमाडौं महानगरपालिकाले पानीजन्य रोग फैलन नदिन सजकता अपनाउन आग्रह गरेको छ।

 

कामपाका वरिष्ठ जनस्वाथ्य अधिकृत राजेन्द्र घिमिरेले पानीको कारण झाडापखाला, हैजा, रगतमासी, जन्डिसलगायतका रोग बढ्न जाने सम्भावना बढेको बताउँदै त्यसका लागि कामपाले जनचेतनाका कार्यक्रम अघि बढाएको बताए। उनले भने– ‘फोहोरको समस्याले बिकराल रुप लिन थालेपछि महानगरवासीलाई जनचेतनासम्बन्धी कार्यक्रम अघि बढाएका हौं।’

 

पछिल्लो एक महिना यता सिसडोल ल्यान्डफिल साइट भरिएर फोहोरको पहिरो जाने खतरा बढेपछि उपत्यकालगायत छिमेकका २२ स्थानीय निकायको फोहोर व्यवस्थापनमा समस्या बढेको छ । समस्या समाधान गर्ने विषयमा सरकारले समेत चासो दिन छाडेपछि महामारी बढ्ने खतरा बढेको हो।

 

पछिल्लो समयमा राजधानीलगायतका स्थानको फोहोर सडक गल्लीमा थुप्रिएको छ । समस्याले बिकराल रुप लिँदै गएपछि उपत्यका लगायतका २२ स्थानीय निकायको बैठकले कामपाका सहसचिव ईश्वरचन्द्र मरहठ्ठाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ।

 

ल्यान्डफिल साइटको अल्पकालीन र दीर्घकालीन व्यवस्थापनको उपाय सुल्झाउन समिति गठन गरेको हो । समितिको सदस्यमा ललितपुर महानगरसहित उपत्यका सबै नगर समेटिने गरी प्रमुख प्रशासकीय अधिकृत रहनेछन्। –नेपाल समाचार पत्रबाट

काठमाडौंको फोहोर

विशेष