एसिया कप क्रिकेटका लागि खेलाडी छनोट
काठमाडौं । नेपालको तर्फबाट एसिया कप क्रिकेटका लागि खेलाडीहरू छनोट गरिएको छ ।
मलेसियामा हुने क्रिकेट प्रतियोगिताका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको टोलीले अनिलकुमार साह, वसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, किशोर महतो, ललितसिंह भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सागर पुन, सन्दीप लामिछाने, सोमपाल कामी, सुवास खकुरेल, सुनिल धमला र सुशन भारीलाई छनोट गरेको हो ।
शरद भेषवाकर भने यस टोलीमा परेका छैनन् । भेषवाकर अघिल्लो साता नेदरल्यान्ड्समा भएको पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय खेलका क्रममा घाइते भएका थिए । नेदरल्यान्ड्सविरुद्ध एक दिवसीय खेलमा नरहेका सुनिल धमला, सागर पुन, विनोद भण्डारी, सुशन भारी र किशोर महतो टोलीमा परेका छन् ।
बन्द प्रशिक्षण आगामी साउन २९ गतेदेखि सुरु हुने नेपाली क्रिकेट टोलीका व्यवस्थापक रमनकुमार सिवाकोटीले बताए । उनका अनुसार छनोटमा परेका खेलाडीको नाम प्रारम्भिक हो । प्रशिक्षणबाट एसिया कपका लागि १५ सदस्यीय टोली घोषणा गरिने छ ।
छनोट प्रतियोगिता आगामी भदौ ११ देखि २२ गतेसम्म मलेसियामा हुँदैछ ।
उक्त प्रतियोगितामा युएई, हङकङ, नेपाल, सिंगापुर, मलेसिया र ओमानबीच प्रतिस्पर्धा हुनेछ । छनोट प्रतियोगितामा सहभागी ६ टोलीमध्ये शीर्षस्थानको टोली भदौ ३० गतेदेखि युएईमा हुने एसिया कपमा छनोट हुनेछ । उक्त प्रतियोगिताबाट छनोट हुने टोली एसिया कपको समूह ‘ए’ मा रहेका भारत र पाकिस्तानमा रहने छ ।
एसिया कप क्रिकेट