सरकारप्रति सर्वसाधारणको आक्रोश ‘रेल ल्याउने सपना नदेखाउ सरकार, हिँड्नको लागि पहिले बाटो बनाऊ’ (भिडियाेसहित)
काठमाडाैं । बौद्ध जोरपाटी सडखण्ड, जहाँ बर्खाको बेला सर्बसाधारणले दैनिक मार खेप्नुपर्छ । सडकमा जताततै खाल्डाखुल्डी छन्, बाटोहरू हिलाम्मे छन् । पानी नपर्दा धुलो र पानी पर्दा हिलोको समस्या छ । हरेक दिन यस सडकखण्डबाट हजारौँ सवारी साधन र पैदल यात्रुहरूले यात्रा गर्ने गर्छन् । तर यात्रा निकै कठिन र दुःखदायी हुने उनीहरूको गुनासो छ । प्रत्येक वर्ष सडक निर्माण र मर्मतको लागि बजेट छुट्टिएपनि सडकको व्यवस्थापन हुनभने सकेको छैन ।अव्यवस्थित सडकखण्डकै कारण सर्वसाधारणहरूको नियमित काममा समेत बाधा पुगेको छ । बाटोकै कारण सवारी साधनहरू घण्टौं जाममा पर्ने गर्छन् ।बाटोकै कारण नियमित कार्यालय जाने कर्मचारी सधैंजसो चिन्तित मुद्रामा देखिन्छन् । समयमै कार्यालय पुग्न र घर फर्कन नसक्नाले उनीहरूको काममा समस्या आउने कर्मचारीको गुनासो छ । अव्यवस्थित सडकको कारण सर्वसाधारणले विभिन्न किसिमको दुर्घटनापनि खेप्दै आएका उनीहरू बताउँछन् ।
नेपाल आजको नियमित स्तम्भ ‘जनता जान्न चाहन्छन्’ मा हामीले बौद्ध जोरपाटी सडक खण्डको अवस्था र सर्वसाधारणको समस्याबारे उनीहरूसँग नै जिज्ञासा राखेका छौँ । सडकजस्तो सवेंदनशिल क्षेत्रलाई वेवस्ता गर्नु केन्द्र र स्थानिय सरकारको कमजोरी रहेको त्यहाँका स्थानिय जनता बताउँछन् । ‘यहाँ बाइकमा जाँदा सबै कपडा फोहोर हुन्छ । हिँडेर जाँदापनि समस्या उस्तै छ, ।’ बौद्ध जोरपाटी सडकखण्ड हुँदै शंकरापुर अस्पताल जाँदै गरेका प्रल्हाद लामिछाने आफूले दैनिकजसो खेप्नुपरेको दुख सुनाउँछन्‘ सरकारले समृद्धी र विकास भनेपनि समृद्धी कहिले आउँछ थाहा छैन । राजधानीको मुटु भनिने ठाउँमा त यस्तो छ झन् अरु ठाउँमा कस्तो होला ?’ स्थानिय बासिले राज्यलाई यस विषयमा दबाब दिइरहँदा पनि राज्य मौन बसेको स्थानिय यदु प्रसाद खतिवडा बताउँछन् ।
मोदि आउँदा रातारात बाटो बनाउने तर जनताको दुःखमा भने विगुल फुकेर बस्ने सरकारको व्यवहारले जनतालाई निराश बनाएको सर्वसाधारणको गुनासो छ । नयाँ सरकार आएपछि समस्याहरू नआउनुपर्नेमा झनै मर्काहरू खेपिरहनुपरेकाले उनीहरू चिन्तित छन् । बर्खा याममा विद्यालय जाने विद्यार्थीहरूपनि यही बाटो हिँड्नु पर्छ । तर उनीहरू वारिबाट पारिजान निकै मुस्किल परेको एक स्थानियबासीले बताए । उनी भन्छन् ‘ हिलोमा विद्यार्थीहरू धेरैपल्ट लडेका छन् । ’
सडक बनाउनको लागि सरकारलाई विभिन्न व्यङ्ग्यात्मक कार्यक्रम मार्फत दबाब दिइरहँदा पनि कुनै चाँसो नदेखाएको स्थानिय दुर्गा प्रसाद सापकोटाको गुनासो छ । ‘हामीले सडक कविता र धान रोपाइँ जस्ता व्यङ्गयात्मक कार्यक्रमहरू ग¥यौँ, यसबारे स्थानिय प्रतिनिधिसँग छलफल ग¥र्यौँ । ’ थकित मुद्रामा उनी निराश हुँदै भन्छन् ‘ तर सरकार भने यसप्रति कहिल्यै गम्भीर भएन । ’
जनता जान्न चाहन्छन् बौद्ध जोरपाटी सडखण्ड