जनकपुर–जयनगर रेल सफलतापूर्वक परीक्षण
जनकपुर । जनकपुरदेखि भारतको जयनगरसम्म निर्माणाधीन ब्रोडगेज रेल सेवाको सफलतापूर्वक परीक्षण भएको छ ।
भारतीय इर्कान कम्पनीले रेल निर्माणको ठेक्का लिएको थियो । सो कम्पनीले बुधबार सफलतापूर्वक परीक्षण गरेको हो । १० अर्ब रुपैयाँको लागतमा निर्माण भएको ब्रोडगेज रेलसेवाको पहिलो परीक्षण जयनगरदेखि नेपालको खजुरी स्टेसनसम्मको भागमा गरिएको हो । यसको दुरी साढे आठ किलोमिटर छ ।
रेल विभाग साइट कार्यालय जनकपुरका प्रमुख विनोद ओझाका अनुसार अधिकांश काम अन्तिम चरणमा पुगेका छन् । केही समयमै पूरै रुटमा रेल सञ्चालन हुन सक्नेछ । आउँदो दुई महिनाभित्रमा जयनगरदेखि कुर्थासम्म पूर्णरुपमा सेवा सञ्चालन भइसक्ने उनले जानकारी दिए ।
निर्माण पूरा भएपछि जयनगरदेखि बर्दिवाससम्म ६९ किलोमिटर दुरीमा रेल गुड्नेछ । जसमा ३ किमि मार्ग भारतमा पर्छ । यसका लागि महोत्तरीको भङ्गहादेखि बर्दिवाससम्मको लिक वरिपरिको खण्डमा अधिग्रहणको काम भइरहेको छ ।
दोस्रो चरणमा २०१९ मार्चदेखि धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म १७ किमि र सोही वर्षभित्र बिजलपुरादेखि बर्दिबाससम्म १७ किमि रेलमार्थ सञ्चालनमा ल्याउने योजना रहेको इन्जिनियर ओझाले जानकारी दिए ।